पोखरा पर्यटन बसपार्क उपत्यका नगर विकास समितिलाई हस्तान्तरण

पोखरा । पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरिएको छ । पर्यटन विभागले निर्माण गरिदिएको उक्त बसपार्क बुधवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले नगर विकास समितिका अध्यक्ष तथा पोखराका मेयर धनराज आचार्यलाई बसपार्कको स्वामित्व हस्तान्तरण गरेका हुन् ।

उक्त बसपार्क ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा निर्माण भएको हो । बसपार्कमा ४० वटा पर्यटक बस राख्न मिल्छ भने १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने ठाउँ निर्माण गरिएको पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीले जानकारी दिए ।

बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको बताए । पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको उनको भनाइ छ ।

मेयर आचार्यले सुविधा सम्पन्न बसपार्क निर्माण गरी हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागलाई धन्यवाद दिए । १८ रोपनी क्षेत्रफलमा उक्त बसपार्क निर्माण भएको हो । २०७५ सालदेखि निर्माण सुरु भएको बसपार्क २०७७ मा सक्ने लक्ष्य थियो ।

कोरोना संक्रमणका कारण केही ढिलो भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =