पशुपति पार्किङमा दोब्बर असुली, कोषद्वारा अनुगमनको संयन्त्र नभएको दाबी

काठमाडौँ । पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई पार्किङमा दोब्बर असुली गर्दै आइएको पाइएको छ ।
प्रयोग गर्ने सवारी व्यवस्थापनको जिम्मा निजि क्षेत्रलाई दिइएको छ ।
पशुपति क्षेत्र विकास कोषले २०७८ असोज ४ गते तत्व इन्भेष्टमेन्ट सर्भिसेस प्रालिलाई ५ वर्षका लागि मासिक ३ लाख १९ हजारमा ठेक्का सम्झौता गरेको थियो । तर, ठेकेदारले भने दोब्बर बढी असुली गरिरहेको पाइएको छ ।
सम्झौताअनुसार बाइकको १० रुपैयाँ तोकिएको भए तापनि ठेकेदार कम्पनीले दोब्बर अर्थात् २० रुपैयाँ उठाउने गरिएको छ । त्यस्तै, ठूला बसको २ सय रुपैयाँ पार्किङ शुल्क तोकिएपनि डेढगुणा बढी अर्थात ५ सय रुपैयाँ लिने गरिएको छ । ठेकेदार पक्षका कर्मचारीसँग रसिद माग्दा कहिलेकाहीँ दिने गरेपनि सधैँ पूरै रकमको रसिद भने नदिने गरेको पाइएको हो ।
तत्व इन्भेष्टमेन्टले दुइ ठाउँमा छाप्रो हालेर रकम असुल गरिरहँदा कोषका पदाधिकारीले भने अनुगमन गर्ने कुनै चासो देखाइरहेका छैनन् । त्यहाँ कसरी रकम असुली भइरहेको छ, कोषका कुनै पदाधिकारीले अनुगमन गर्दैनन् । सम्झौताअनुसारको रकम उल्लेख गरिएको ब्यानरमा रकम मेटिएको छ । त्यहाँका कर्मचारी सुमन कोइरालाले २ सय भन्दा बढि नलिएको दाबी गरे ।
कोषका कर्मचारीका अनुसार हरेक दिन ५ सय बढी बाइक, १ सय जति साना सवारी र १ सय ५० ठुला बस आउने गर्छन् । वाइक र बससहित साना चारपाङ्ग्रे सवारी, ट्क, मिनि ट्रकबाट ठेकेदारले मासिक २५ लाख भन्दा बढि उठाइरहँदा सम्झौता अनुसार उसले कोषलाई ३ लाख १९ हजार दिए पुग्छ । यसरी मासक २२ लाख रकम सम्झौता बाहिर गएर उठाइरहँदा उसलाइ कोषले नियमन गरेको देखिँदैन ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने अहिले सम्म यस्तो गुनासो नआएको दाबी गर्दै भनेका छन्, ‘अहिलेसम्म हाम्रो अनुगमनको संयन्त्र छैन । तर, अब हामी बनाउँछौँ । के भएको रहेछ हामी हेर्छौँ ।’










