सदनमा नपठाउँदै बाहिरियो गण्डकीको रातो किताब, सिलिङमा अर्बौंको तलमाथि

पोखरा । असार १ गते बजेट वक्तव्य प्रस्तुत गरेपछि संसद बैठक अवरुद्ध छ । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रममा विवाद भएपछि आधा असार सकिँदा समेत बजेटमाथि छलफल अघि बढेको छैन ।

अर्थमन्त्रालयले रातो किताब बनाउन समय मागेपछि स्थगित सदन अहिले अनिर्णित छ । अर्थमन्त्रीले मुख्यमन्त्री र दलको निर्देशनसमेत नमानेपछि विवाद चरम उत्कर्षमा पुगेको हो ।

यसैबीच, सदनमा छलफल नहुँदै गण्डकीको रातो किताब (वार्षिक विकास कार्यक्रम पुस्तिका) बाहिरिएको छ । बजेटको वार्षिक अनुमानमाथि छलफल सकिएपछि मात्रै विनियोजन विधेयक पेश गर्नुपर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ । तर, बजेट वक्तव्यमाथि छलफल प्रारम्भ नहुँदै रातो किताब अर्थ मन्त्रालयबाट बाहिरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश नगरेको विवादसँगै मन्त्रालयगत बजेट तथा कार्यक्रम तलमाथि गरेको आशंका मन्त्रीहरूलाई छ । त्यसैले, मन्त्रीहरूले दोश्रो बाटोबाट रातो किताब झिकाई आफ्ना कार्यक्रमबारे जाँचबुझ गरेका हुन् । रातो किताब बाहिरिएपछि गण्डकीमा बजेटमाथिको विवाद झनै बढेको छ ।

‘किताब छाप्न दिएको ठाउँबाट मन्त्रीज्यूहरूले लिनुभएको बुझिएको छ,’ एक सांसदले भने, ‘पहिले नै मन्त्रीहरूले आफ्नो मन्त्रालयको बजेट र कार्यक्रम काटिएको भनेर आक्रोशित हुनुभएको थियो ।’

बुधबार संसदको अवरोध हटाउन बसेको सत्ता गठबन्धनको बैठकमै भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले पुस्तिकामा आफ्नो मन्त्रालयको योजना काटेको भन्दै जानकारी गराएका थिए । अवरोध हटाउन र विकल्पको खोजी गर्न माओवादी संसदीय दलको बैठक बिहीबार आयोजना गरिएको छ ।

‘मन्त्रालयले पठाएका योजना व्यापक कटौती गरेर आफ्ना योजना हाल्नुभएको पाइएको छ,’ एक मन्त्रीले भने, ‘हरेक मन्त्रालयमा ५० करोडदेखि १ अर्बसम्मको सिलिङ तलमाथि भएको छ । यो हदैसम्मको निर्लज्जता हो ।’ अर्थमन्त्रीले रातो किताब नसच्याउँदासम्म सदन नचल्ने उनले बताए ।

संसदको गतिरोध अन्त्य गर्नका लागि दैनिकजसो बैठक बसेपनि निकास निस्किएको छैन । ‘समस्या अर्थमन्त्रीसँग मात्रै हो । उहाँ बैठकमा सच्याउन तयार छु भन्नुहुन्छ । भोलिपल्ट सच्याउन मान्नुहुन्न,’ ती मन्त्री भन्छन्, ‘दिनदिनै झुट बोल्नुभएको छ । मुख्यमन्त्रीलाई ढाँट्नुभएको छ । यो गलत हो ।’

अर्थमन्त्रीले आफूखुसी बजेट बनाएपछि सत्ता गठबन्धनको केन्द्रीय शीर्ष नेताहरूको समेत बैठक भएको थियो । उक्त बैठकमा पनि छुटेका कार्यक्रम राख्न राजी भएपछि टोली पोखरा फर्किएको हो । तर, समस्या जहाँको त्यहीँ छ । गाँठो फुस्किएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =