बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको शव उठाउन स्थानीयको अवरोध

चितवन । बाघको आक्रमणबाट मृत्यु भएकी पूर्व म्यादी प्रहरीको शव उठाउन स्थानीयले अवरोध गरेका छन् ।
भरतपुर २७ मेघौलीका स्थानीयले बाघको आक्रमणबाट मृत्यु भएकी २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतको शव उठान अवरोध गरेका छन् । उनीहरूले नरभक्षी बाघलाई नियन्त्रणमा नलिएसम्म बस्नेतको शव उठाउन नदिने बताएका छन् ।
चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले बस्नेतको शव पोस्टमार्टमका लागि स्थानीयको अवरोधका कारण उठाउन नसकिएको बताए ।
मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा साथीहरूसँग निउरो टिप्न गएकी २३ वर्षीय बस्नेतलाई बाघले आक्रमण गरेको थियो । नेपाली सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव नियन्त्रणमा लिएका थिए ।
मृतकको शव वनबाट बाहिर निकाले पनि स्थानीयले अहिले नारा लगाउँदै नरभक्षी बाघलाई नियन्त्रणमा लिन माग गरिरहेका छन् । स्थानीयले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछि शव लैजान दिने बताएका छन् ।








