डुबान समस्या समाधानका लागि मेयर कोइरालाद्वारा भारतीय पक्षको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् ।

भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण गराए । सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आइसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ ।

मेयर कोइरालाले समस्या समाधानको उपाय खोज्न भारतीय पक्षलाई आग्रहसमेत गरे । ‘आइसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी रोकिने गरेको छ, कोइरालाले भने, ‘पानीको सहज निकासका लागि प्राविधिक रुपमा के गर्न सकिन्छ तपाईंहरूले गरिदिनु पर्यो ।’

आइसीपीको पर्खालका कारण पानीको निकास रोकिँदा विराटनगर १८ डुबानमा पर्ने गरेको मेयर कोइरालाले बताए । कोइरालाले वर्षाको समयमा पानीको सहज निकासका लागि तत्कालै उपाय खोजी गर्नुपर्नेमा जोड दिए ।
भारतीय पक्षले आइसीपीदेखि कटहरीसम्मको रेलमार्ग निर्माणमा सहजीकरण गरिदिन मेयर कोइरालालाई आग्रह गरेको छ ।

दूतावासका फष्ट सेक्रेटरी बंसालले ओभरहेड ब्रिज र छेउछाउका टहराका कारण रेलमार्ग निर्माणले गति लिन नसकेको बताए । उनले रेलमार्गमा पर्ने ओभरहेड ब्रिजबाट सर्वसाधारणको आवतजावतमा रोक लगाउन र छेउछाउका टहरा हटाइदिन आग्रह गरेका थिए ।

भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग निर्माण भइरहेको छ । भारततर्फ निर्माण सम्पन्न भए पनि नेपालतर्फ भने मुआब्जा विवाद र रेलमार्गमा पर्ने भौतिक संरचना नहटाउँदा निर्माण हुन सकेको छैन ।

आइसीपीबाट नेपालतर्फ रेलमार्ग निर्माणको काम धेरै पूरा भएपनि अझै कतिपय ठाउँहरूमा मुआब्जा लगायतको कारणले समस्याहरू रहेको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

हालसम्म रेलमार्गको ८२ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =