विराटनगरको विकासका लागि विश्व बैंकको चासो

विराटनगर । विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ ।
विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स नेतृत्वको टोलीले मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासको बारेमा चासो दिएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरूको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए ।
मेयर कोइरालासँगको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्व बैंक सहयोग गर्न तयार रहेको प्रस्ट्याए । प्रदेशको राजधानी भएकाले विराटनगरको विकास हुनु जरुरी रहेको उनको भनाइ छ । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महानगरलाई आर्थिक रूपमा बलियो बनाउन सुझाव समेत दिए।
सो क्रममा उनले वित्तीय हस्तान्तरणको अवस्था, स्थानीय, प्रदेश र संघीय सरकारबीच हुने वित्तीय बाँडफाँड, स्थानीय तहले संकलन गर्ने राजस्वको अवस्था लगायतका विषय विश्व बैंकका प्रतिनिधिहरुले मेयर कोइरालासँग जिज्ञासा राखेका थिए ।
विश्व बैंकले नेपाल सरकारसँग मिलेर नेपालको समग्र विकासका परियोजना तयार पारिरहेको छ । परियोजना करिब १ सय ५० मिलियन डलर बराबरको हुने विश्व बैँकले जनाएको छ ।









