देशभर एकैसाथ कक्षा १२ काे परीक्षा शुरू

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरू गरेको छ ।

सोमबारबाट ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा शुरू भएको बोर्डले जनाएको छ ।

जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब चार लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले सबै परीक्षा केन्द्रमा परीक्षा शुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डलेसबै सरोकारवाला निकाय तथा आम नागरिकमा आह्वान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =