गण्डकी अस्पताल : आठ महिने गर्भवती घण्टौँ लाइनमा

सीमा अधिकारी अहिले ८ महिनाको गर्भवती छिन् । कास्की आर्वाबाट बिहान ९ बजे गाडी चढेर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा नियमित चेकजाँचका लागि अल्ट्रासाउण्ड गराउन आएकी थिइन् । अल्ट्रासाउण्डका लागि उहाँ एक हप्ताअघि नै अस्पताल पुगेकी थिइन् । त्यतिबेला अल्ट्रासाउण्ड गर्ने टिकट सकिएपछि उनलाई अहिलेको मिति दिइएको थियो । अस्पतालको करिडोरमा उभिरहनुभएकी उहाँको अघि र पछि अल्ट्रासाउण्ड गराउनेको लामो लाइन थियो । दुई घण्टा भन्दा बढी उभिएपछि बल्ल उहाँको पालो आयो । उनी भन्छिन्– ‘बिहान ९ बजे आइपुगेको हो, अझै लाइनमै छु । साह्रै गाह्रो भएको छ । यहाँ सकेर घर कतिबेला पुग्ने हो ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा मात्र ३ वटा अल्ट्रासाउण्ड मेसिन छ । अल्ट्रासाउण्ड गराउने ठाँउ पनि सानो छ । जसले गर्दा अल्ट्रासाउण्ड कोठाबाहिरको करिडोरमा बिरामीको भिड लाग्छ । अस्पतालमा दिनहुँ ४ सय बिरामीलाई अल्ट्रासाउण्ड गर्नुपर्ने आवश्यकता छ तर हाल २ सय ५० जना बिरामीको मात्र अल्ट्रासाउण्ड गर्ने क्षमता अस्पतालसँग छ । तीनजना डाक्टरलाई दैनिक यो संख्या पनि धेरै हो तर गण्डकी अस्पतालमा मेसिन र ठाउँ दुवैको अभाव छ ।

अल्ट्रासाउण्ड मात्रै होइन, पहिलेको क्षेत्रीय स्तर र हालको गण्डकी प्रदेशस्तरको यस अस्पतालमा बिरामीले सिटिस्क्यान गर्न बाहिर निजी अस्पतालमा जानुपर्छ । सिटिस्क्यान गराउने कोठाको ढोकामा ताल्चा लगाइएको ७ वर्ष भन्दा बढी समय भइसकेको छ । पोखरा छोरेपाटनका रवि पहारीले दुर्घटनामा परेका आफ्ना दाईलाई भर्ना गराउनुभएको ८ दिन भयो । जति नै गम्भीर बिरामी भए पनि सिटिस्क्यानका लागि बिरामीलाई स्ट्रेचरमा राखेर प्राइभेट अस्पतालमा लैजानुपर्ने अवस्था छ । पहारीले भने– ‘यति ठूलो अस्पतालमा यी सुविधा भइदिए सजिलो हुने थियो । बाहिर लैजाँदा खर्च बढेको छ ।’

बिरामीको छटपटी, घण्टौँको लाइनमा

पोखराको पुरानो र व्यस्त सरकारी अस्पताल हो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) । दैनिक १ हजारदेखि १ हजार ८ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । २ सय ७ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा हाल ६ सय कर्मचारी कार्यरत छन् तर बिरामीको चाप अनुसारको कर्मचारी यहाँ छैन । यससँगै उपचारका लागि चाहिने अति आवश्यक सिटिस्क्यान, एक्सरे, अल्ट्रासाउण्डलगायतका मेसिन पनि अपुग छ । भिडियो एक्सरे गराउने कोठमा पुग्दा घण्टौ लाइन लागेर बसेका हुन्छन् बिरामी र बिरामीका कुरुवा । एक्सरे गराउने मेसिनबाट आउने विकिरणको नकारात्मक असरबाट बच्नका लागि अरु व्यक्ति कम्तीमा २ मिटर बस्नुपर्ने हुन्छ तर एक्सरे गर्न आउने बिरामीको भीडका कारण एक्सरे गर्ने कोठामै बिरामी लाइन लागेर बस्नुपर्ने अवस्था छ ।

अस्पताल भित्र जुन सेवा लिन गयो त्यहाँ घण्टौ लाइन बस्नुपर्ने भएकाले एकैदिनमा हुने कामका लागि अर्को दिन थप समय लाग्ने गरेको बताउछन्– बिरामी कुरुवाहरू । बिरामी कुरुवा मध्येकी एक सूचना अधिकारी भन्छिन्– ‘बिमा भएकाले त्यसको टिकट लिन २, ३ घण्टा कुर्नपर्छ, डाक्टरलाई देखाउन अर्को १ घण्टा कुर्नपर्छ, फेरि अरु एक्सरे केही गर्नुपरे फेरि अर्को केही घण्टा लाइन बस्नुपर्छ, रिपोर्ट लिएर फेरि आएपछि डाक्टरलाई देखाउन अर्को घण्टा कुर्नुपर्छ, औषधीका लागि अरु केही समय लाइनमा बस्नुपर्छ । अस्पतालमा जताततै लाइनै लाइन बस्नुपर्छ । यता बिरामी छटपटिरहेका हुन्छन्, उता हामी घण्टौ लाइनमा बसेर बिरामी छटपटिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता छ ।’

व्यवस्थित बनाउने प्रक्रियामाः निर्देशक

यता अस्पतालका निर्देशक प्रा. डा भरतबहादुर खत्रीलाई बिरामीले खेप्नुपरेको सास्तीबारे थाहा रहेछ । उनले अस्पतालको सेवासुविधालाई व्यवस्थित बनाउन काम भइरहेको बताए । उनी भन्छन्– ‘हामीले टोकन सिस्टम ल्याएर पहिलेभन्दा अहिले धेरै व्यवस्थापन गर्‍यौ । यसबाहेक थप मेसिन र ठाउँका लागि प्रबलीकरणको काम भइरहेको छ ।’

अस्पतालको सेवासुविधा सुधारका लागि प्रा ।डा खत्रीले अस्पतालभित्रका केही क्षेत्रहरू औल्याउनुभयो । उनले पहिलो क्षेत्र अस्पतालमा ठाउँको अभाव रहेको र यसले गर्दा पर्याप्त रूपमा मेसिन राख्न तथा आउने बिरामीको भिडलाई व्यवस्थापन गर्न नसकिएकाले अस्पतालमा भित्र पर्याप्त ठाउँ बनाउन काम भइरहेको बताए । उनले दोस्रो क्षेत्र अस्पतालमा जनशक्ति पनि कम रहेको बताउँदै थोरै जनशक्तिले धेरै बिरामी हेर्नुपर्ने भएकाले कर्मचारीलाई पनि गाह्रो भएको बताए । उनले भने ‘हाल अस्पतालमा १ सय तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७० जना गरी १ सय ७० जना नर्सले बिरामी धानेका छन् । जबकी अस्पतालमा बिरामीको संख्या हेरी ५ सय ८५ जना नर्सको आवश्यकता छ ।’ यसका लागि उनले सम्बन्धित पक्षहरूसँग जनशक्ति बढाउन बारम्बर अनुरोध गरिरहेको बताए ।

उनले तेस्रो क्षेत्र अस्पताललाई डिजिटल रूपमा सञ्चालनमा ल्याउन कम्युटराइज्ड सफ्टवेयरको आवश्यकता रहेको बताए । ‘यसका लागि हामी प्रक्रिया जाँदै गर्दा समस्याहरू आइरहेका छन् । हामी कम्युटराइज्ड डिजिटल प्रणालीमा जान सक्यौं भने टोकन लिनेदेखि अनलाइन पेयमेन्टसम्मको सबै काम सजिलो हुन्छ र यसले लाइनमा बस्नुपर्ने झन्झट हुँदैन ।’

निर्देशक प्रा. डा खत्रीले अस्पतालमा पर्याप्त ठाउँ बनिसकेपछि अल्ट्रासाउण्ड तथा भिडियो एक्सरेका मेशिन थप्ने योजना रहेको सुनाए । यो कहिलेसम्म तयार हुन्छ भन्ने विषयमा प्रा.डा. खत्रीले निश्चित उत्तर दिनसकेनन् । उनले भने– ‘मैले काम गर्छु भनेर अगाडि बढ्दा पनि कहिले प्रक्रियागत रूपमा त कहिले अन्य विविध कारणले ढिला हुन पुग्ने रहेछ ।’

७ करोडको सिटिस्क्यान मेसिन कहिले आइपुग्छ ?

गण्डकी अस्पतालमा सिटिस्क्यान मेसिन नभएको ७ वर्षभन्दा बढी भइसक्यो । सिटिस्क्यान मेसिन पहिले पनि पटक पटक बिग्रिने समस्याहरू आइरहेका थिए । यतिका वर्षदेखि सिटिस्क्यान गर्नुपरे बिरामीका कुरुवालाई अस्पतालका कर्मचारी (डाक्टर)ले पोखरा अमरसिंहचोकको कालीगण्डकी डायगोनिस्टिक सेन्टरमा लैजान रिफर गर्दै आएका छन् । निर्देशक प्रा. डा. खत्रीले आफू गत २०७८ सालमा नियुक्त भएर आइसकेपछि सिटिस्क्यान मेसिन ल्याउने कामलाई प्राथमिकता दिएको बताए । यसका लागि बोलपत्र आह्वान गरेर बैकिङ प्रक्रिया सबै पूरा गरेर नेपालको हस्पिटेक इन्टरप्राइजेजले टेन्डर हात पारेको थियो ।

अस्पतालमा फिलिप्स कम्पनीको सिटिस्क्यान ल्याउन लागिएको छ । यसको सर्तअनुरूप कम्पनीले ९० दिनभित्र अर्थात् गत वर्षको असोज महिनासम्म मेसिन ल्याउनुपर्ने थियो तर ७ महिना बितिसक्दा पनि मेसिन आइपुगेको छैन । उनले भने– ‘रसियायुक्रेन युद्ध, कोभिडजस्ता अनेक कारणले रोकिएको भनेर कम्पनीले हामीलाई जानकारी गराएको छ । ढिला गरेका कारणले हामीले कम्पनीलाई जति ढिला भयो त्यति नै दैनिक ३५ हजार जरिवाना लगाएका छौँ । यस्तै हामीले किन्दा डलरको भाउ जति थियो त्यति नै राख्ने फेरबदल गर्न नपाउने भनेर सर्त पनि राखेका छौँ । मेसिन अहिले भारतको कलकत्ता आइपुगिसकेको छ । त्यसैले पनि अब सिटिस्क्यान मेसिन चाडै नै अस्पतालमा आइपुग्छ भन्नेमा म ढुक्क छु ।’ स्राेतः INS न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =