आफ्ना चुनावी प्रतिबद्धता नगरपालिकालाई हस्तान्तरण

सुर्खेत । वैशाख ३१ गते देशैभर एकचोटी भएको स्थानीय तह निर्वाचन–२०७९ को मतपरिणाम अन्तिम चरणमा पुगेको छ । यसै क्रममा कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतको अन्तिम मत परिणाम पनि सार्वजनिक भइसकेको छ । आगामी पाँच वर्षका लागि भएको स्थानीय तहको निर्वाचनबाट वीरेन्द्रनगर नगरपालिकाले नयाँ नेतृत्व पाइसकेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकाल र उप–प्रमुखमा नेकपा एमालेबाट नै निलकण्ढ खनाल निर्वाचित भएका छन् । नगरका प्रमुख, उप–प्रमुखसहित अन्य वडाका सबै निर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहणसँगै पद बहाली समेत गरिसकेका छन् ।

यस्तै, बुधबार नेपाली कांग्रेसबाट वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुख पदमा प्रत्यासी उपेन्द्रबहादुर खड्काले आफ्ना चुनावी प्रतिबद्धता नगरपालिकालाई हस्तान्तरण गरेका छन्। नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर सभापति समेत रहेका खड्का नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका थिए भने माओवादी केन्द्रबाट शान्ति ढकाल उप–प्रमुखको उम्मेदवार बनेकी थिइन् ।

मेयर पदका प्रत्यासी खड्काले वीरेन्द्रनगरको विकास र समृद्धिका लागि जनतासँग गरिएका वाचाहरु कार्यान्वयन गराउनका लागि नगरप्रमुख ढकाललाई चुनावी घोषणापत्र हस्तान्तरण गरिएको बताए । ‘उनले भने, ‘वडा–वडाबाट जनताका आवश्यकता र मागहरुलाई समेटेर हामीले घोषणापत्र तयार गरेका थियौं । घोषणापत्रमा लेखिएका विषयहरु कार्यान्वयन गर्ने ठाउँमा हामी पुग्न सकेनौं । त्यसैले यी घोषणा–पत्रमा समावेश गरिएका योजनाहरु कार्यान्वयन गराउनका लागि निर्वाचित नगर प्रमुखलाई हस्तान्तरण गरेका हौं ।’

खड्काले नगरको फोहरमैला व्यवस्थापन गर्न, उत्तरी क्षेत्रका जनताका लागि स्वास्थ्य र यातायातमा सहज पहुँच बढाउन, सोतखोलामा मानव निर्मित ताल निर्माण गर्न, हरेक महिना कार्यपालिका बैठक लगत्तै नगरका गतिविधिहरुलाई पत्रकार सम्मेलनमार्फत जानकारी गराउन, घरघरमै गर्भजाँच सेवा सुरु गर्न, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई घर–आँगनमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा र्पुयाउन जस्ता कुरामा नगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।

खड्काले आफ्ना चुनावी प्रतिबद्धतामा सुर्खेतलाई नमुना जिल्ला बनाउने, प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गर्ने, हरेक महिना ७ गते कार्यपालिका बैठक अनिवार्य गर्ने, नगर प्रमुख–पत्रकार भेटघाट कार्यक्रम गर्ने, अपाङ्गता भएका फरक क्षमता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी नागरिकका लागि घर–दैलोमा सेवा प्रभाव उपलब्ध गराउँने, शिक्षा, युवा तथा खेलकुद तर्फ सिकाई मेला आयोजना, अतिथि शिक्षक कार्यक्रम, विद्यालयमा एक दिन कार्यक्रम, पढ्दै कमाउँदै, विद्यालय सहयोगी समूह गठन जस्ता योजना उल्लेख गरिएका छन् ।

यस्तै, स्वास्थ्य तर्फ घरमै टेलिमेडिसन सेवा, हरेक वडा स्वास्थ्य शिविर, होम कियर, ब्लड बैंक स्थापना, वीरेन्द्रनगरलाई पूर्ण स्वास्थ्य बीमित बनाउँने, कृषि र रोजगारीतर्फ एक टोल, एक कृषि उपज संकलन केन्द्र, कृषकको सुचिकरण र वर्गीकरण, किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराउने, एक वडा एक उद्यमशीता केन्द्र, रोजगार बैंकको स्थापनाका साथै पर्यटन, यातायात, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहर मैला व्यवास्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, कला, संस्कृति र खेलकुद, सामाजिम रुपान्तरण, प्रर्वाधार विकास, सुरक्षा र सुचना, प्रविधि तथा सञ्चार सम्बन्धित लोकप्रिय योजनाहरु खड्काले अगाडी सारेका थिए ।

उक्त चुनावी घोषणा–पत्र नगरपालिका प्रमुख ढकालाई हस्तान्तरण्न गर्दै खड्काले भने, ‘सरल र पूरा गर्न सकिने विषयहरु राखेर हामीले चुनावी घोषणापत्र बनाएका थियौं । हामीले जनतासँग गरेका बाचाहरुमा निरन्तर निगरानी गर्नेछौं, कार्यान्वयनतर्फ ध्यान दिनुहोला ।’

यस्तै, नगर प्रमुख ढकालले उक्त घोषणा–पत्र लिदै सबैलाई समेटेर प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरलाई राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरिन् ढकालले भनिन्, ‘चुनावमा सबै राजनीतिक दलहरुले जनता समक्ष नगरपालिकालाई राम्रो बनाउने प्रतिवद्धता जनाएका थियौं । कार्यान्वयन गर्ने ठाउँमा म पुगेकाले सबैका चुनावी प्रतिबद्धतालाई समेत समेटेर काम गर्नेछु ।’

पराजित खड्का निर्वाचित ढकालबाट ५५४ मतान्तरले पराजित भएका थिए । एमालेबाट उम्मेदवार बनेकी ढकालले १६ हजार ३८ मत प्राप्त गरेर विजयी प्राप्त गर्दा खड्काले १५ हजार ४८४ मत पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *