संसद अवरोधबारे अध्यक्षको निर्देशन कुर्दै एमाले सांसद

काठमाडौँ । मंगलबार दिउँसो ४ बजेटबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ । संघीय संसद सचिवालयले मंगलबारका लागि विभिन्न पाँच वटा संभावित कार्यसूची समेत सार्वजनिक गरिसकेको छ । तर, संसदमा जारी अवरोधलाई प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तरता दिन्छ वा दिँदैन भन्ने विषय दिउँसो १ बजेसम्म टुंगो लागेको छैन् । एमाले सांसदहरु अध्यक्ष केपी शर्मा ओलीको निर्देशन कुरेर बसेका छन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ संसदको अवरोधका विषयमा पार्टीले निर्णय लिन बाँकी रहेको बताउँछन् । पार्टी छलफलमै रहेको भन्दै उनले संसदको अवरोधका विषयमा यसै गर्ने भन्ने टुंगो भइनसकेको बताए ।
एमाले सांसद बिन्दा पाण्डे संसदमै पुगेपछि अवरोधको विषयमा जानकारी हुन सक्ने बताउँछिन् । ‘अहिलेम्म के गर्ने केही जानकारी आएको छैन् । अब संसदमै पुगेपछि थाहा होला’ पाण्डेले अनलाइनखबरसँग भनिन् ।
एमलेकै अर्की सांसद बिना श्रेष्ठ पार्टीले जे ह्वीप जारी गर्छ त्यही हुने बताउँछिन् । तर, पार्टीले दिउँसो १ बजेसम्म कुनै ह्वीप जारी नगरेको उनले जानकारी दिइन् ।
एमालेकी अर्की सांसद गंगा चौधरी सत्गौवा पनि पार्टीले निर्णय लिन बाँकी रहेको बताउँछिन् । ‘पार्टीको बैठक बसेको छैन् । अध्यक्षबाट केही निर्देशन होला’ उनले भनिन् ।
एमालेकै सचेतक शान्ता चौधरी पनि संसदको अवरोध निरन्तर अगाडि बढ्छ कि रोकिन्छ भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताउँछिन् । आफु बिरामी भएर आराम गरिरहेका कारण यो विषयमाथिको छलफलमा भाग लिन नपाएको भन्दै उनले शीर्ष नेताहरुलाई सोध्न आग्रह गरिन् ।
एमालेले २३ भदौ २०७८ देखि जारी संसदमा अवरोध गर्दै आएको छ ।
माधव नेपाल सहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले निरन्तर संघीय संसद्मा अवरोध गर्दै आएको छ । सांसदलाई कारबाही गरेको सूचना नटाँस्ने भए सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ ।
तर, एमालेले भनेका सांसदहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दल दर्ता गरिदिएको ९ महिना भइसक्यो ।
नयाँ दलले स्थानीय तहको चुनावमा भाग लिएर बिभिन्न पदमा जित हात पारिसकेको छ । तर, दल गठनपूर्वको विषयलाई लिएर एमालेले संघीय ससदलाई चल्न दिइएको छैन् ।









