मुस्ताङको मतगणना सकियो, अधिकांश एमालेको पोल्टामा

पोखरा । मुस्ताङका ५ गाउँपालिकाको मतगणना सकिएको छ । अधिकांश उम्मेद्वार एमालेबाट विजयी भएका छन् । कांग्रेसको गढ मानिने मुस्ताङ अहिले जोगाउन सकेन ।
अधिकांश पालिकामा एमालेले इन्ट्री मात्रै मारेको छैन, बहमुत जितेको छ । लोमान्थाङमा एमालेका टसीनुर्वु गुरुङले कांग्रेसका टसी गुरुङलाई हराए । उपाध्यक्षमा पनि एमालेकी छिमी विष्टले कांग्रेसकी छिरिङ ढोका गुरुङलाई पराजीत गरिन् ।
बारागुङ मुक्ति क्षेत्रमा एमालेका रिन्जिन नाम्गेल गुरुङले कांग्रेसका आङजेन गुरुङलाई पराजीत गर्दा उपाध्यक्षमा पनि एमालेकी ढिकी गुरुङले कांग्रेसकी धेचआङमो गुरुङलाई हराइन् । लो घेकर दामोदर कुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्टले एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई भारी मतान्तरले पराजीत गरे । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङले कांग्रेसकी लक्ष्मी गुरुङलाई पराजीत गरिन् ।
घरपझोङमा भने पहिलो पटक कांग्रेस विजयी भएको छ । यसअघि एमालेले जितेका दुवै पदमा कांग्रेस विजयी भयो । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचनले एमालेका सन्जयकुमार थकालीलाई २ मतको अन्तरले हराए । उपाध्यक्षमा कांग्रेसकी जमुना थकालीले एमालेकी भीमकुमारी शेरचनलाई पाखा लगाइन् । अन्तिममा गणना सकिएको थासाङमा अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले जितेको छ ।
अध्यक्षमा एमालेका प्रदिप गौचनले कांग्रेसकी बालकुमारी शेरचनलाई पराजीत गरे भने उपाध्यक्षमा कांग्रेसका सोमल हिराचनले एमालेकी सुमिता शेर्पालाई हराए । मनाङका दुई पालिकामा कांग्रेस र दुई पालिकामा एमाले विजयी भएको छ ।









