जहाँको मतदान केन्द्र महिलाले मात्रै हाँक्दैछन्…

पोखरा । भोलि हुने स्थानीय निर्वाचनका लागि कास्कीमा एउटा यस्तो मतदान केन्द्र छ, जहाँ महिला कर्मचारी मात्रै खटाइएका छन् ।
पोखराको बैदामस्थित अन्नपूर्ण आधारभूत विद्यालयको मतदान केन्द्रमा महिला मात्रै कर्मचारी छन् । यहाँ मतदान अधिकृतदेखि सहयोगीसम्म महिलामात्रै रहेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । उनका अनुसार सल्लाह अनुसार नै यो केन्द्रमा महिला मात्रैलाई खटाइएको हो ।
जिल्ला अदालत कास्कीकी शाखा अधिकृत सविता ढुंगानाले हाँक्ने मतदान केन्द्रमा निर्वाचन कार्यालयको नासु सर्मिला रानाभाटलाइ सहायक मतदान अधिकृत बनाइएको छ । जिल्ला अदालतकी कर्मचारी कविता खनाल र पोखरा महानगरपालिकामा कार्यरत प्रतिभा गौतमलाई सहायक कर्मचारीको रुपमा खटाइएको छ भने सहयोगी कर्मचारी मनमाया कुमाल छन् ।
अहिले उनीहरूले बुथ निर्माण गरिरहेका छन् । महिलाले पनि चुनाव गराउन सक्छन् र ब्यवस्थापन गर्न सक्छन् भन्ने उदाहरण पेश गर्नका लागि महिला मात्रै रहेको मतदान केन्द्र बनाइएको पराजुलीले बताए ।
जिल्लाभरि कर्मचारी र स्वयंसेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ । यहाँ १ सय ८५ मतदान स्थल र ३ सय ३६ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा १ हजार ६५ जना मतदाता भन्दा बढी नहुने गरी मिलाइएको छ ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखराकै राम आधारभूत स्कुलको मतदान केन्द्रमा महिला मात्रै कर्मचारी खटाइएका थिए । यो चुनावमा महानगरका २ सय ४२ मतदान केन्द्रमध्ये ३९ केन्द्रमा महिलालाई प्रमुख बनाइएको छ ।









