म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

काठमाडौँ । स्थानीय तह चुनाव सञ्चालन गर्न म्याग्दीका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७४ मतदानस्थलका ११४ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जनाएको छ। मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मङ्गलबार केन्द्रमा पुगेर मतदान अधिकृतले सूचना टाँसेका जानकारी दिए। बुधबार र बिहीबार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ। एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन्। कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए। चुनावका लागि म्याग्दीमा कूल दुई हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन्।

मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन्। एक सय १४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन्। निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् भने निर्वाचनलक्षित ६१८ म्यादी प्रहरी नियुक्त भएका छन्। तीन सय ८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। मतदान र मतदानअघि तथा मतगणनासम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ। ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी गरी ८५ हजार ३७५ मतदाता छन्।

म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *