म्याग्दीका उम्मेदवार हेलिकोप्टरबाट चुनावी प्रचारमा
२०७९ वैशाख २८ गते

पोखरा । भौगोलिक रूपमा निकै विकट रहेको म्याग्दीको धवलागिरि गाउँपालिकाका उम्मेदवारहरु हेलिकोप्टर चढेर प्रचारमा निस्किएका छन् । वडा नम्बर १ गुर्जामा भोट माग्नका लागि मंगलबार एमाले उम्मेदवार हेलिकोप्टर मार्फत त्यहाँ पुगेका हुन् ।
अध्यक्ष उम्मेदवार थमसरा पुन र उपाध्यक्षका उम्मेदवार प्रगति कार्की गुर्जामा प्रचार गरेर फर्किएका हुन् । धवलागिरि गाउँपालिका ७ ताकमबाट फिस्टेल एयरको हेलिकप्टर मार्फत उनीहरू गुर्जा पुगेका थिए । करिब १ घण्टा मतदाता भेटे, कोणसभामा भाषण गरे र फर्किए ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्र भएकाले हिँडेर जान सम्भव नभएको पुनले बताइन् । तर उनीहरूले हेलिकोप्टर प्रयोगको अनुमति भने लिएका थिएनन् । यसअघि कांग्रेस नेताहरू समेत हेलिकोप्टर चढेर मालिका गाउँपालिका २ को रुममा भएको चुनावी सभामा पुगेका थिए ।
२०७९ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित









