एमालेको धरान प्रतिबद्धता पत्रमा केबलकारदेखि दरबार पुनर्निर्माणसम्म

धरान । नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच वर्षमा नागरिकको लागि गर्ने कामको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । यही २४ गते नेकपा एमालेका केन्द्रीय पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने चुनाव सभाको कार्यक्रमबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा पाँच वर्ष भरी गर्ने कामको विवरण पनि सार्वजनिक गरिएको हो ।

निर्वाचन परिचालन मूल कमिटीका संयोजक तथा प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदीले पाँच वर्षसम्म एमालेले गर्ने कामबारे जानकारी गराए । एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा विजय हासिलगरी सकेपछि समृद्ध धरान बनाउने संकल्पको साथ चुनावमा होमिएको उनले बताए ।

‘विगतमा एमालेबाट विजयी जनप्रतिनिधिहरुले गरेको कामले पार्टीको शिर उठेको मात्र हैन, मतदाताहरूको सम्मान पनि भएको छ,’ उनले भने, ‘एमाले नेतृत्वको स्थानीय सरकारले ८० प्रतिशत भन्दा बढी काम गरिसकेको तर उपनिर्वाचनमा एमालेलेको नेतृत्व गुमेको कारण अढाई वर्ष धरानले गति लिन सकेन ।’

सार्वजनिक गरिएका योजनाहरूमा धरान खेलग्राम, निर्माणाधीन स्मार्ट बसपार्क, सप्तरंगी पार्क धरान-१७, शिवजट्टाको सौन्दर्यकरण र पर्यटकीय पूर्वाधार विकास, किरातकालीन विजयपुर दरबार पुनर्निर्माण, औद्योगिकग्राम धरान-६, स्लटर हाउस, विष्णुपादुका मन्दिर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास, कोकाहा ड्याम धरान-२०, मनमोहन पार्क हर्दिया धरान-४, तारेभिर रक क्लाईम्विंग धरान-२०, केबलकार र आदिवासी जनजाति बहुजातीय संग्राहलयलाई प्राथमिकतामा राखिएको छ । जसलाई एमालेले आफ्नो प्रतिबद्धता पत्रमा महत्त्व दिएको छ ।

‘अहिले हामीले प्रतिबद्धता जाहेर गरिरहँदा नियमित हुने कामहरू त छँदैछन् ती बाहेक धरानलाई साँच्चै समृद्ध बनाउनका निमित्त ठूला मेघा प्रोजेक्टहरू सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश १ मै धरानलाई खेलकुदको हब बनाउने योजना अघि सारेको छ । त्यसका लागि पूर्वाधार विकासका योजना अघि सारेका छौँ ।’

निर्माणाधीन बस पार्कलाई पनि एमालेले पहिलो प्राथमिकतामा राखेको छ । सप्तरंगी पार्कलाई प्रदेश १ कै गन्तव्य हुन सक्ने गरीको डिजाइनमा विकास गर्ने योजना रहेको बताएको छ । व्यवस्थित आधुनिक सहरको नमुनाको रूपमा बनाउनु पर्ने आधारभूत कुराको व्यवस्थापन गर्ने जनाएको छ । ४ नम्बर वडामा मनमोहन पार्क शुरु गरेको र त्यसलाई पुरा गरी ग्रामीण पर्यटनलाई सुदृढ गर्ने उल्लेख गरेको छ ।

तारे भीरमा रक क्लाइमिङको डिपीआर तयार गरिसकेको र निकट समयमै रक क्लाइमिङ सञ्चालन गर्ने योजना एमालेको प्रतिबद्धता पत्रमा ल्याएको छ । धरानमा केबलकार सञ्चालकको पनि योजना ल्याएको छ । निर्माणाधीन आदिवासी जनजाति संग्राहलयलाई पुरा गर्ने, ठूला प्रोजेक्टहरूलाई पीपीपी सीपको मोडलमा विभिन्न क्षेत्रको लगानीमा काम गर्ने योजना बनाएको छ ।

नगरपालिकाको आफ्नो लगानीले मात्र यी सबै सम्भव नभएको एमालेको भनाई छ । सामूहिक निजी साझेदारीको माध्यमबाट यी कामहरू पूरा भइसकेपछि धरानको दीर्घकालीन आर्थिक आधार बन्ने दाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =