ह्याट्रिक गर्ने दाउमा कहिले नथाक्ने दीपक

धनकुटा । चालिसको दशकमा तत्कालीन सरकारको विरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरू खुल्ला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरू जेलमा हुँदा गाउँगाउँबाट जनजागरण ल्याउन सबै दलका युवाहरू सक्रिय भएका थिए । तिनै पङ्क्तिमा थिए धनकुटा चानुवाका दीपक बुढाथोकी ।

धनकुटामै शक्तिशाली शासकको अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तार गर्दै आफ्नो विचारमा सर्वसाधारणलाई समाहित गर्न उनी छिमेकी गाउँ मारेक कटहरे, डाडागाउँ लेगुवालगाएतका टोलटोल पुग्थे ।

२०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व सम्हालेका उनी जिल्ला तहका नेताहरूको आँखामा परेका थिए । पञ्चायतका हस्ति एवं तत्कालीन प्रधानमन्त्रीसमेत भइसकेका सूर्यबहादुर थापा जस्ता शक्तिशाली नेतालाई चुनावमा जितेर नाम कमाएका कम्युनिस्ट नेता गोपाल गुरागाईँको नगरमा उतिबेलै परिसकेका थिए ।

२०४६ सालको आन्दोलन सहर केन्द्रितमात्र थिएन । गाउँबाट आन्दोलनको ज्वारभाटा उठिरहेको थियो । दीपक त्यही आन्दोलनलाई जिल्लाको उत्तरी सीमानामा रहेको भोजपुर र सङ्खुवासभा जोडिएको गाउँ चानुवाको नेतृत्वमा होमिए । गाउँ तहदेखि जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले ।

लगातार दुई पटक गाविस अध्यक्षमा निर्वाचित
जनआन्दोलन सफल भई प्रजातन्त्र पुनर्स्थापना पश्चात् भएको पहिलो निर्वाचनमा बुढाथोकीलाई तत्कालीन चानुवा गाउँ विकास समितिको नेतृत्वका लागि पार्टीले टिकट दिनेभयो । ‘२५ वर्षको उमेरमा सबैको मत जित्नु सामान्य कुरा थिएन ।’ चालिसको दशक सम्झिँदै उनले भने ‘६ वर्षदेखि गाउँमा काम गरेको अनुभव थियो । मलाइ जनताले पत्याउनहुन्छ भन्ने दृढ विश्वास थियो ।’

प्रजातान्त्रिक शक्तिको बाहुल्य भएको ठाउँमा कम्युनिस्ट गढ बनाउनु सामान्य थिएन । उनले अथक प्रयास गरे । पार्टीले पत्यायो । नभन्दै उनले भारीमतले विजयी भए । युवावस्थामै गाविसको अध्यक्ष पदमा निर्वाचित उनलाई गलत काम गर्ने छुट थिएन । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनलाई पार्टीले दोस्रो कार्यकालका लागि पनि सोही पदमा टिकट दियो । उनले दोस्रो कार्यकाल पनि चुनाव सहजै जिते ।

यसरी दशवर्ष गाविसको नेतृत्व गर्दा उनले सीमित बजेटको भरमा जनताका तत्कालीन आवश्यकता परिपूर्ति गर्न चुनौती थियो । यद्यपि जनश्रमदानमा अधिक काम भए । अधिकांश कृषि पेसामा आबद्ध रहेका जनताका समस्या सम्बोधन गर्ने प्रयास गरे । सडक, बिजुली र अत्यावश्यक पूर्वाधारको अभाव रहेता पनि त्यसका लागि स्रोत जुटाउन उनी लागिरहे । माओवादी द्वन्द्वमा गाउँ नछाडी निरन्तर जनताको काममा खटिरहँदा उनलाई माओवादीले अपहरणसमेत गर्‍यो । पछि सम्मानजनक रूपमा घर फर्काइदिएको थियो ।

तेस्रो पटक जनअनुमोदनका लागि चुनावमा
लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन भयो । त्यो बेला स्वयंसेवी भावले निरन्तर जनताको काममा लागि रहका उनलाई २०७४ सालको निर्वाचनमा कार्यकर्ताबाट सिफारिस भएपनि चुनावमा टिकट पाउन सकेनन् । एमालेको कार्यकर्ताको रूपमा इमानदारीपूर्वक जनताको काममा जुटिरहे । तत्कालीन चानुवा गाविससहित डाडागाउँ, मारेक कटहरे, लेगुवा, अर्खौले जीतपुर र मूर्तिढुंगा गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिकाको नेतृत्वका लागि आतुर छन् ।

संविधान बनेपश्चात् पहिलो कार्यकालमा आएका जनप्रतिनिधिबाट स्थानीय तहका काम गर्ने जग बसेको छ । दोस्रो कार्यकालका लागि उनै बुढाथोकीलाई पार्टीले विश्वासका साथ महालक्ष्मी नगरपालिकाको मेयरका लागि टिकट दिएको छ । स्थानीय तहको दुई चुनावमा निर्वाचित उनी तेस्रो पटक जनअनुमोदनका लागि चुनावी मैदानमा छन् । महालक्ष्मी नगरपालिकाका घरघरका मतदातासामु पुगिरहेका छन् ।

गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश एक कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान् व्यक्तिका रूपमा परिचित छन् । ‘कठिन परिस्थितिमा पनि नडगमगाई पार्टी र जनतासामु लगनशील भएर काम गर्नु नै वहाँको विशेषता हो ।’ बुढाथोकीका राजनीतिक गुरुसमेत रहेका कम्युनिस्ट नेता गोपाल गुरागाईँ भन्छन् – ‘वहाँलाई युवावस्थादेखि चिन्छु । यो पटक पुनः जनताले जिताउनेछन् भन्नेमा ढुक्क छु ।’

जनतालाई अनुभूत हुने काम गर्छु
यसअघि महालक्ष्मीसहित सातै पालिकामा नेकपा एमालेले जीतेको थियो । बुढाथोकीले अघिल्लो कार्यकालमा थालिएका काम सम्पन्न गर्दै जनताले प्रत्यक्ष अनुभूत गर्ने काममा आफ्नो लगाव रहने बताएका छन् । ‘मसँग दुई कार्यकाल जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । जनताको आवश्यकता र अवस्थाप्रति जानकार छु ।’ उनले भने ‘म जनतालाई पुरा नहुने सपना देखाउँदिन । नेकपा एमालेको इमानदार कार्यकर्ता भएको नाताले सर्वसाधारणको जीवनस्तर उकास्ने काममा मेरो ध्यान हुनेछ ।’

बुढाथोकीसँग सत्तारुढ गठबन्धन उम्मेदवार एवं तत्कालीन महालक्ष्मी २ का वडाध्यक्ष ध्रुव राय चुनावी प्रतिस्पर्धामा छन् । राय नेपाली काँग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =