पोखरामा एमालेका मेयर उम्मेदवार भन्छन् : चुनाव लड्न महाभारत छ, अर्काेपटक लड्दिनँ

पोखरा । नेकपा एमालेबाट पोखराको मेयरमा उम्मेदवारी दिएका कृष्ण थापाले चुनाव लड्न पार्टीभित्रै महाभारत भएको बताएका छन् ।
उनले ट्वाक्कै कारण नखुलाएपनि पार्टीको गुट उपगुटका कारण टिकट नपाउने र टिकट पाएपनि खर्चिलो भएका कारण चुनाव लड्न नसक्ने अवस्थालाइ संकेत गरेका छन् ।
‘पार्टीमा चुनाव लड्न धेरै महाभारत छ । सजिलो छैन । अर्को पुस्ता पार्टीमा तयार भैरहेको छ,’ उनले भने, ‘नेताहरूलाई साक्षी राखेर घोषणा गर्छु, मेरो यो चुनाव अन्तिम चुनाव हुनेछ । कृष्ण थापा अब चुनाव लड्ने छैन ।’ उनले पार्टीले बनाएको घोषणापत्रलाई जस्ताको तस्तै इमान्दारी पुर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
थापाले आफूले सरकारबाट पाउने सबै सुविधा जनताका लागि खर्च गर्ने घोषणा गरेका छन् भने शरिरका सबै अंगहरू पनि दान दिने बताएका छन् । पोखराको ५ वर्षे योजना सार्वजनिक गर्न आएका उनले भने, ‘मेरो ४२ सालको राजनीतिक यात्रामा धेरै कुरा दिएको छु । अब दिन बाँकी भनेको शरिरका अंगहरू मात्रै हो । र यो पनि प्रतिबद्धता व्यक्त गर्दछु, डाक्टरहरूलाई साक्षी राखेर दान दिनपर्ने सबै अंगहरू दान दिने घोषणा गर्दछु ।’
महानगरभित्र भएको भ्रष्टाचार र कमिसन तन्त्र तत्काल रोक्ने थापाको प्रतिबद्धता छ । ‘हामीले भ्रष्टाचार र कमिसन तन्त्र सुनिरहेका छौं । यस्ता जनविरोधी क्रियाकलाप अन्त्य गरेर जान्छौं,’ अघि थपे, ‘अक्टोवर क्रान्तिका नायकले भनेका थिए, मान्छे जन्मेपछि मर्नुअघि उसले निर्भिकता पुर्वक भन्न पाओस् भनेका थिए । मैले मेरो सारा जिवन मेरो देशका लागि, जनताका लागि, जनताको मुक्तिका लागि दिएको छु । जीवनमा पछुताउनुपर्ने कुनै कुरा गरेको छैन भन्न सकियोस भनेका थिए । म त्यो प्रण गर्दछु ।’
थापाले आफू महानगरमा गएर सिक्नुपर्ने केही नभएकोले फटाफट काममा लाग्न सक्ने बताए । ‘हामी उम्मेदवारले त्यहाँ गएर सिक्नुपर्ने केहीपनि छैन । उपमेयर त्यहाँ गएपछि डे वानदेखि नै काम गर्नुहुन्छ । हिजो ५४ देखि ५९ सम्म काम गरेको अनुभवले मलाई विश्वास छ, त्यहाँ गएपछि मैले सिक्नुपर्ने छैन,’ थापा भन्छन्, ‘मलाई त्यहाँका कर्मचारी चिन्न एक वर्ष लाग्ने छैन । पहिलो दिनदेखि नै जनताको सेवामा खटिने छौं ।’
उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र साथै अन्तराष्ट्रिय विमानस्थल आफ्नो कार्यकालमा चलाएर अन्तराष्ट्रिय स्टाण्डर्डको हव बनाउने प्रतिबद्धता जनाए ।









