मन्त्रीले कर्मचारी कुटेपछि प्रदेशसभामा सांसदको प्रश्न, गण्डकी सरकार गुण्डाराज हो ?

पोखरा । गत मंगलबार युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै कर्मचारीलाई कार्यकक्षमा कुटेको विषयले संसदमा प्रवेश पाएको छ । प्रतिपक्षी पार्टीका सांसद कृष्णबहादुर थापाले कर्मचारी कुटेको घटनाको वास्तविकता संसदलाई जानकारी गराउन माग राखेका हुन् ।
‘विगत केही दिनमा गण्डकी सरकारको टिका टिप्पणी भएको छ । सरकारका सम्मानित मन्त्रीले कर्मचारीलाई कुटेको र घाईते बनाएको कुरा छ,’ उनले भने, ‘सभामुख ज्युलाई भन्न चाहान्छु, ‘गण्डकी सरकार गुण्डाराज हो कि, गठबन्धन राज हो रु घटनाको बारेमा सभालाई सबै तथ्यसत्य बास्तविकता राखियोस् ।’
उनले धेरै शहिदको बलिदानबाट प्राप्त संघीय व्यवस्थामा गुण्डाराज मौलाउन नहुने बताए । ‘यो प्रदेश सरकार बनाउन, संघीयता ल्याउन र चाहेको व्यवस्था ल्याउन हजारौं शहिदको बलिदान छ । हामी जस्ता हजारौं युवाहरु जसले राजनीतिमा सिंगो जिवनलाई लगाएर ल्याएको व्यवस्था हो । कुनै गुण्डाराजको व्यवस्था होईन,’ उनले भने ।
तर घटनामा संलग्न मन्त्री मनाङे संसदमा उपस्थित थिएनन् । प्रश्न राखेकै दिनदेखि प्रदेशसभाको हिउँदे अधिवेसन अन्त्य गरिएको छ ।









