कास्की अदालतको इजलासमा तोडफोड

पोखरा ।  कास्की जिल्ला अदालतको इजलास कक्षमा तोडफोड भएको छ । के कारणले र कसले तोडफोड गर्यो भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले मंगलबार राति अदालतको २ वटा इजलास कक्षमा तोडफोड भएको पुष्टि गरे । घटनाबारे प्रहरीले मुचुल्का उठाइसकेको छ ।

थप अनुसन्धान भैरहेको तिवारीले जानकारी दिए । उनका अनुसार १ नम्बर इजलासका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र ६ नम्बर इजलासका देवप्रसाद योगीले हेर्दै आएको इजलास कक्षको ढोका फोरिएको र कक्षभित्रको दराज फुटाइएको छ ।

अदातलका एक कर्मचारीले बुधबार बिहान सरसफाइ गर्ने क्रममा इजलास कक्षको ढोका फुटेको पाएपछि खबर बाहिरिएको हो । घटना स्थलमा केही फलामे रड फेला परेको छ । ‘ कसले कुन नियतले तोडफोड गरेको थाहा छैन । छानविन भैरहेको छ,’ अदालतका सुचना अधिकारी निल पनेरुले भने, ‘हामीले अरू ठाउँको सीसीटीभी फुटेज हेरिरहेका छौँ ।’

घटनास्थल नयाँ भवनमा भएकोले सीसीटीभी राखिएको छैन । उक्त कक्षमा ३ सय ५३ वटा मुद्दा रहेकोमा सबै मुद्दा भेटिएको छ । तर मुद्दाहरूका सक्कल प्रमाण हराएको हुन सक्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =