दूध खान मिल्ने ‘सानेन’ प्रजातिको बाख्राप्रति कृषकको आकर्षण बढ्दै (फाेटाेसहित)

बन्दीपुर । चीज र दूधको लागि उत्कृष्ट जातको बाख्रा ‘सानेन’ को अहिले मोफसलमा माग बढी रहेको छ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रका अनुसार दूधको लागि अरू प्रजाती भन्दा अहिले सानेन खोज्ने किसानहरू धेरै भएका छन् ।

आयातित प्रजाति भए पनि नेपाली हावापानीमा सजिलै हुर्कने र फाइदा धेरै दिने भएपछि किसानहरू अहिले सानेनप्रति आकर्षित भएका हुन् ।

बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रका प्रमुख राजु कँडेल भन्छन् , ‘अरू प्रजातिका बाख्राका दूध र चीज नहुने होइन । तर, विशेषगरी सानेन प्रजातिको बाख्राबाट उत्पादन हुने चीजको बिक्री बढेसँगै बजारको माग धान्नै धौधौ छ ।’ उनका अनुसार पोखरा, बन्दीपुर लगायतका पर्यटकीय क्षेत्रहरूमा यसको चीजको माग धेरै छ ।

‘बाख्राको चीजको महत्व विशेषगरी विदेशीले बुझेका छन् । नेपालमा पनि बाख्राको दूध र चीजको महत्व बढ्न थालेको छ । विदेशीले वाइनसँग चीजखान मन पराउँछन् । त्यसमा पनि बाख्राको चीज उनीहरूको पहिलो रोजाई हो ।’ कँडेल भन्छन्, ‘विगत तीन वर्षयता विदेशीसँगै आन्तरिक पर्यटकले पनि यो चीजको माग गर्दै आएका छन् ।

फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई-भैंसीको तुलनामा बाख्राको दूध र चीजको माग उल्लेख्य रहेको छ ।

अहिले केन्द्रले बाख्राको दूधको मूल्य प्रतिलिटर ५० रुपैयाँ र प्रवर्द्धनकै लागि चीजको मूल्य ८ सय रुपैयाँ निर्धारण गरिएको बताउँदै उनले भने, ‘हामी शुरूवाती चरणमा छौँ । बाख्राको दूध र चीजको प्रवर्द्धन आवश्यक छ । यहाँ मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सकिन्छ । यसका लागि अहिले ३ हजार रुपैयाँको सट्टा ८ सय रुपैयाँ काम गरिएको हो ।’

सामान्यतया नेपाली बजारमा बाख्राको चीज हार्डको ३ हजार र सफ्टको २ हजार रुपैयाँ भएको उनले बताए ।

यतिखेर अनुसन्धान केन्द्रमा सानेन प्रजातिका बाख्रा ५९ वटा छन् । याेसँगै खारी, सिन्हाल, जमुनापारी, बोयर, बारबारी लगायत प्रजातिका सात सय ६१ बाख्रा अनि बोका छन् ।

केन्द्रले हाल सानेन प्रजातिको माउ बाख्रा बिक्री नगरे पनि पाठी भने बेच्दै आएको छ । दूध छुटाएको तीनदेखि पाँच महिनाभित्रको पाठी प्रतिकेजी १७ सय रुपैयाँको दरले बिक्री वितरण भैरहेको छ । वजन अनुसार एउटा पाठीको मूल्य करिब ३५ हजार रुपैयाँ पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =