सभामुखको होली शुभकामना : ‘सबै खाले स्वार्थ भन्दा माथि उठेर साझा सहमति खोजौँ’

विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागु पूर्णिमाले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

फागु पूर्णिमाको अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आपसी राग, द्वेष, मनोमालिन्य समाप्त गरेर एकताको सूत्रमा जोड्ने सामाजिक पर्व फागु पूर्णिमा अर्थात् होली भएकोले यसले सबैलाई एकताको सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

असत्य माथि सत्य, हिंसा माथि सद्भाव, घृणा माथि प्रेम, क्रूरता माथि शालीनताको विजयोत्सवको रूपमा मनाइने रङ्गहरूको पर्व फागु पूर्णिमा हिमाल पहाड तराइलाई एकताको सूत्रमा बाँध्ने पर्व भएको बताएका छन् । शुभकामना सन्देशमा उनले आपसी भ्रातृत्व, सद्भाव र सहिष्णुता कायम गर्ने पर्वको रूपमा स्थापित फागु पूर्णिमाले विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको उल्लेख गरेका छन् ।

शुद्धता, पवित्रता, सौभाग्य, शक्ति तथा प्रेमको प्रतीक रातो रङ्ग, भक्ति, धर्मको प्रतीक पहेँलो रङ्ग, प्राण, जीवनशक्ति तथा मार्मिकताको प्रतीक हरियो रङ्ग अनि धर्म युद्ध, कर्तव्य तथा जिम्मेवारी बोधको प्रतीक निलो रङ्गहरूको प्रयोग गरेर शरद ऋतुलाई बिदाइ गर्दै वसन्त ऋतुको आगमन सँगै मनाइने होलीले हाम्रो जीवनमा खुसीको रङ्ग छर्न सफल रहोस्, सभामुख भण्डारीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =