प्रहरी महानिरीक्षकद्वारा उदयपुरमा नवनिर्मित भवनहरूको उद्‌घाटन

उदयपुर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर तथा नागरिक सहायता कक्षको सोमबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

उनले उक्त भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्यारउने महानुभावहरूलाई प्रशंसापत्र समेत प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा नागरिकमा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।

चौबिसै घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरी कर्मचारीहरूलाई नयाँ भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सृजना गर्ने विचार व्यक्त गर्दै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

सुरक्षा भनेको नागरिक र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न उनले उपस्थित सर्वसाधारणलाई अनुरोध समेत गरे ।

उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गर्दै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादव, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी तथा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

त्रियुगा नगरपालिका-१० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नवनिर्मित उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल ९ करोड ४९ लाख ९६ हजार ६ सय ६८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनाल, विभिन्न सरकारी कार्यालयका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =