विश्वकै लामो केवलकारको ड्रोन सर्भे सकियो, ५६ अर्बमा परियोजना बन्दै

पोखरा । विश्वकै सबैभन्दा लामो दावी गरेको विरेठाँटीदेखि मुक्तिनाथ जोड्ने केवलकारको ड्रोन सर्भे सकिएको छ ।

प्रारम्भिक अध्ययन अनुसार विरेठाँटीदेखि मुक्तिनाथ सम्म ८६.६५ किलोमिटर लामो केवलकार निर्माण गर्न लागिएको हो । यसअघि लाईडर सर्भे सकेर अहिले पक्कापक्की गर्नका लागि ड्रोनबाट अध्ययन गरिएको हो ।

मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न लागेको उक्त केवलकारको लागत ५६ अर्ब अनुमान गरिएको छ । पर्यटन, दीगो यातायात व्यवस्थान, रोजगारी र राजश्व बढाउने उद्देश्यले लगानी वोर्डको स्वीकृतिबाट निर्माण प्रक्रिया अघि बढेको हो ।
केवलकारमा १९ वटा स्टेसन हुनेछ भने ११ वटा स्टेसनमा यात्रुले बास बस्न सक्छन् ।

विरेठाँटीबाट शुरू हुने यात्रा तीखेढुंगा, घोरेपानी, शिख, पाख्रे बगर, तातोपानी, काभ्रे हुँदै घासा स्टेसन पुग्नेछ । त्यहाँबाट कालोपानी, लेते, कोवाङ, चोखोपानी, टुकुचे, मार्फा र जोमसोममा छुटछुट्टै स्टेसनको परिकल्पना छ । मुक्तिनाथ पुग्नुअघि कागवेनीमा थप अर्को स्टेसन हुनेछ । कम्पनीले सन् २०१७ मा प्रपोजल पेश गरेको थियो । २०१८ मा डीपीआरको लागि बोर्डले स्वीकृति दिएको थियो भने एमओयु समेत भैसकेको छ । यो आयोजना ५ वर्षभित्र सक्ने लक्ष्य छ ।

अहिले वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढेको कम्पनीका अध्यक्ष अरुण कुमार सुवेदीले जानकारी दिए । ‘सरकारले कानुनी र प्रशासिनक हिसाबले जति छिटो फुकुवा गर्यो, उति छिटो निर्माण प्रक्रिया शुरू हुन्छ,’ उनले भने, ‘अहिले कानुनी झण्झट बढी छ । सरकारकै कानुनहरू एकआपसमा बाझिँदा लगानीकर्ता मर्कामा परेका छन् ।’ लगानी वोर्डले स्वीकृति दिएको परियोजनामा वन ऐनले अड्चन ल्याएको उनको गुनासो छ । ‘प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले लाइसेन्स दिएको छ । प्रधानमन्त्रीकै मातहतमा पर्ने वन मन्त्रालयले रोक्छ,’ उनले थपे, ‘यो खालको दोहोरो अड्चनले समस्या भैरहेको छ । बल्लबल्ल वन मन्त्रालयबाट पनि स्वीकृति लिएर इआइएको चरणमा पुगेका छौँ ।’

उनले जेठ १५ सम्म वातावरणीय प्रभाव मूल्यांकन सहित सबै काम सक्ने र असोज अघि निर्माणको शिलान्यास शुरू गर्ने जानकारी दिए । परियोजनालाई २०७५ साल साउन १ गते विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रतिवेदन मूल्यांकन (इआइए) गर्ने अनुमति दिइएको थियो । लाईडर सर्वेक्षण सकेपनि इआइएको अनुमति अहिले कात्तिकमा दिइएको हो ।

परियोजनाको स्कोपिङ र टोर लगानी बोर्डमा प्रस्तुत गरेपछि काम अघि बढ्ने बताइएको छ । संरक्षण क्षेत्रभित्र भौतिक पूर्वाधारका लागि पूर्व अनुमति लिनुपर्ने व्यवस्था छ । कम्पनीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट पनि स्वीकृति लिएको जनाएको छ ।

परियोजनामा सबैजसो लगानी देशभित्रैबाट उठाउन लागिएको छ । ‘डलर बढेको बढ्यै छ । हामीले स्थानीय कर्जालाई नै जोड दिएका छौँ । बाह्य कर्जा लिँदा जोखिम बढेर गयो । पैसाको व्यवस्थापन गरेका छौँ । सप्लायर्स र बैंकर तयार छन्,’ सुवेदी भन्छन्, ‘सरकारले क्लियरेन्स दिएको ३ महिनामा सिभिल कन्ट्याक्टरलाई कामको जिम्मा दिन्छौँ । हाम्रा कारणले ढिलो भएको छैन ।’

स्थानीय स्तरमा ४ सय करोडको लगानी प्रतिबद्धता आइसकेको कम्पनीले जनाएको छ । आइपियो करिब ५ सय करोड जारी हुन्छ भने बाँकी रकम बैंक र वित्तीय संस्थाले दिने सहमति जनाएका छन् । ३० अर्ब रुपैयाँ बैंकहरूबाट ऋण लिन लागिएको छ । करिव १५ सय करोडको डिभेन्चर जारी हुने अध्यक्ष सुवेदीको भनाई छ ।

निर्माण शुरू भएको ४३ महिनाभित्र मुक्तिनाथाम केवलकारबाट यात्रा गर्न मिल्ने जनसम्पर्क अधिकृत नवीनकुमार शाहीले जानकारी दिए । उनका अनुसार पूरा दूरीमा ७ सय ७० वटा गण्डोला राखिनेछ । केवलकार चल्न थालेपछि वार्षिक ३५ लाख पर्यटकले यात्रा गर्ने अनुमान छ । यो परियोजना गण्डकी प्रदेशका ४ जिल्लामा विस्तार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =