कास्कीमा ५ तारे स्तरको वृद्धाश्रम बन्ने

पोखरा । कास्कीमा ५ तारे होटल स्तरकै वृद्धाश्रम बन्ने भएको छ । माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा आमा स्मृति फाउण्डेसनले वृद्धाश्रम बनाउन लागेको हो । वृद्धाश्रमको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका छन् ।
इहमान फाउण्डेसन जर्मनी/स्वीट्जरल्याण्ड, आमा स्मृति प्रतिष्ठान र माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा साढे ७ करोड लागतमा वृद्धाश्रम बनाउन लागिएको हो ।
वृद्धाश्रम बनाउन गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङको परिवारले ४ रोपनी जग्गा दान गरेको छ । उक्त जग्गाको मुल्य नै २ करोड भन्दा बढी पर्ने उनले बताए । स्व। नाना गुरुङ र स्व। मोहन गुरुङको परिवारले जग्गा दिएको हो । वृद्धाश्रम ३ वर्षमा बनिसक्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले जानकारी दिए । तत्काल ४० र ५ वर्षपछि १ सय जना बृद्धवृद्धा अट्ने गरी वृद्धाश्रम तयार हुनेछ ।
‘महिला र पुरुष दुबै बस्न मिल्ने गरी छुट्टाछुट्टै आश्रम बन्छ । त्यसमा डाइनिङ, वर्क स्टेसन, रेष्टुरेन्ट, स्वीमिङ पुल, गेस्ट हाउस, हेल्थ स्टेसन, ह्वील चियर सुविधा पनि हुनेछ,’ दवाडीले भने ।
अन्तर्राष्ट्रियस्तरको वृद्धाश्रम बनाउन इहमान फाउण्डेसन जर्मनी/स्वीट्जरल्याण्डले ५ करोड सहयोग गर्नेछ भने २ करोड ५३ लाख आमा स्मृति प्रतिष्ठान सहित तीनै तहको सरकारबाट सहयोग लिने बताइएको छ ।
२०७२ सालमा स्थापना भएको प्रतिष्ठानले सोही ठाउँमा ३ वर्षदेखि डे केयर सेन्टर सञ्चालन गरेको छ । ‘देशैभरका बेवारिसे ज्येष्ठ नागरिकलाई आश्रय दिइनेछ । जसमा शुल्क तथा निःशुल्क दुवै प्रावधान हुनेछ,’ उनी भन्छन्, ‘यस्तो वृद्धाश्रम विश्वमै उदाहरणीय मध्ये मानिन्छ ।’









