उनीहरू गएको बाटो हेरिरहेको मादी…

काठमाडौँ । ‘आमा म गएँ है, बाई बाई’ भन्दै छिमेककी बालिका गएको १० मिनेट मै गाडी भिरबाट पल्टेको खबर सुनेपछि संखुवासभाको मादीकी विष्णु सुवेदीलाई मनमा चिसो पसिसकेको थियो । एकै छिनमा खबर आयो कि हाँस्दै गएकी तिनै बालिकासहित ‘बसमा रहेका धेरैजसोको मृत्यु भयो ।’

गाडी सडकबाट ३ सय मिटर जति तल त्यो पनि भिरमा खसेकाले बसभित्र भएका कोही पनि बाँच्न मुस्किल छ भन्ने सबैले अनुमान गरे । हुन पनि घुम्ती नै घुम्ती रहेको ओरालो सडक त्यसमाथि पिच । गाडी कुइनेटोबाट भिरमा खसेको थियो ।

विष्णुसँग अघिल्लो दिन भएको भेटमा सुखदुखका गफ गरेकी अर्की छिमेकी अञ्जना कडुवाल पनि त्यही गाडीमा चढेकी थिइन् । भेटमा अन्जनाले नै एउटा फोटो खिचिराखौँ न आन्टी सम्झाउनी बिर्साउनी भनेर फोटो खिचेको सम्झना उनलाई आइरहन्छ । कुनै दिनको त बोली पनि कस्तो हुन्छ अन्जनासँगको त्यो भेट सम्झँदै विष्णुले भनिन् ‘सम्झ्यो कि मेरो त आँसु आइहाल्छ ।’ अन्जना तिनै बालिका दीक्षाकी ठूलीआमा हुन् । बालिकाकी आमा तुलसा घाइते छन् । उनको धरानमा उपचार भइरहेको छ ।

अन्जनासँग खिचेको त्यही फोटो फेसबुकमा राख्दै विष्णुले लेखेकी छन्- ‘कसरी बिर्सौँ अञ्जना १ दिन अगाडि रमाइलो गरेर नाचगान गरियो । आन्टीसँग फोटो खिचौँ भन्यौँ, आज केवल सम्झना मात्र । कसरी हेर्नु तिम्रा बालबच्चाहरू, अनि सबै तिम्रो अभावमा शोकाकुल परिवार, रात दिन आँखामा देखिन्छन् । अञ्जना स्वर्गमा बास होस तिम्रो ।’

यसपछिको अर्को पोस्टमा विष्णुले लेखेकी छन्-

‘सानी छोरी दीक्षा आमा गएँ है बाइ बाइ भन्दै हात हल्लाउँदै गएकी थियौ, हिँडेको १० मिनेटमा यो संसारबाट नै गयौ अब कहिले आउँछौ म त तिमी हिँडेको बाटो हेरिरहने छु नानु !’

फेसबुकमा श्रद्धाञ्जली व्यक्त गरेको केही समय पछि मेसेन्जरमा पठाएको मेसेजको उत्तर उनले भोलिपल्ट मात्र दिइन्- ‘भाइ म हिजो म बोल्न सक्ने अवस्था मै थिइनँ सरी है ।’

विष्णु मात्र होइन मादीको बरबोटे गाउँ र आसपास अहिले शोकाकुल छ । दुर्घटनामा ज्यान गुमाएकामध्ये एकजना बाहेक सबै वर्तिर पर्तिरकै भएकाले गाउँका सबैजना टामाटिमी परेका छन् । ‘हामी त एक अर्काको मुख हेर्छौँ आँसु झार्छौँ यस्तै छ है भाइ । उनले भनिन् कहीँ नभएको दशा लागेको रहेछ यसपटक मादीलाई ।’

केही समय अघि मात्र मादी नगरपालिका वडा नं. १ को खोलागाऊँमा सामूहिक हत्या भएको थियो । जसमा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । अहिले भएको दुर्घटनामा १५ जनाको ज्यान गएको छ ।

मादी ‍ओखरबोटेका शिक्षक चेतन कोइराला पनि घटनापछि पुरै गाउँ नै शोकमा डुबेको बताउँछन् । मेरो घरैसँग जोडिएका छिमेकी बहिनी र उनको छोराको पनि मृत्यु भयो गाउँमा तल माथि वरपरका त धेरै जना पर्नुभयो । यो घटनापछि त हामीलाई आकाश खसेको जस्तै भएको छ नि उनले टेलिफोनमा भने । चेतनकी छिमेकी बहिनी समीक्षा योन्जन र उनका ८ वर्षीय छोरा सुदिप माइत मामलबाट ताप्लेजुङको घर जानका लागि त्यो गाडीमा चढेका थिए । घिसिंङ मादी नगरपालिकाबाट दमकका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ को सातघुम्तीमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । । चारजनाको धरानमा उपचार भइरहेको छ ।

संखुवासभाको मादी नगरपालिका वडा नम्बर बाट दिनहुँ तीनवटा गाडी छुट्छन् तराइका लागि, कुनै धरान कुनै इटहरी त कुनै दमकसम्म । कुन दिन कुन गाडी पहिलो जाने वा दोस्रो जाने वा तेस्रो भनेर पालो हुन्छ गाडीको । बिहीबार पालो थियो बा ४ ख ७३५ नम्बरको गाडीको । गाडीका सधैँका चालक बिरामी भएपछि गाडी चलाएका थिए विपिन निरौलाले, जो गाडीका मालिक समेत हुन् । नियमित चालकले बिरामी भनेर बिदा लिएकाले उनले नै गाडी चलाएका थिए । विपिन पनि रात्रीबस चलाएको अनुभव भएका र अत्यन्तै मिजासिला व्यक्ति भएको स्थानीय बासिन्दा बताउँछन् । उनी बूढाबूढीलाई भाडा छुट गर्ने विद्यार्थीहरूलाई बाटोमा जहाँ देखे पनि गाडी रोकेर गन्तव्य सम्म निःशुल्क लगिदिने गर्नुहुन्थ्यो चेतनले भावुक हुँदै विपिनलाई सम्झिए ।

पहिलो गाडी भएकाले कम चढेका थिए यात्रु
पहिलो गाडी चल्ने पालो बिहान सखारै हुने भएकाले दोस्रो र तेस्रोमा भन्दा पहिलो गाडीमा कम मात्र यात्रु हुने स्थानीय बासिन्दा बताउँछन् । बिहानै आइपुग्न गाह्रो हुने भएकाले पनि अहिले दिन लामो भइनसकेको याममा दोस्रो र तेस्रोमा भन्दा पहिलो गाडीमा कम मात्र यात्रु चढ्ने उनीहरू बताउँछन् चारजना एकैछिनले गर्दा छुटेका थिए

करिब दुई तीन मिनेटले गर्दा केही यात्रु यो गाडीमा चढ्न नपाएको र एकजना यात्रुले त त्यही गाडीमा चढ्न भनेर गाडीमा चढेर झोला राखिसकेर पनि फेरि श्रीमती नआएको भन्दै झरेको चेतनले बताए ।

दुर्घटनामा ज्यान गुमाएकी शिक्षिका यूका पोखरेल उपचारका लागि धरान जान गाडीमा चढेकी थिइन् । दुर्भाग्य, उपचार गर्न जान चाहेको अस्पताल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकोप्टरबाट पुर्‍याइएकी उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । दुर्घटनामा ज्यान गुमाएका दीपक दाहाल स्थानीय मादी बहुमुखी क्याम्पसका कागजात बुझाउन र क्याम्पसकै अन्य कामका लागि गइरहेको चेतनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =