विश्व बैंक बाहिरिए पनि हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन बन्ने

काठमाडौँ। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ ।
देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व बैंक बाहिरिएकै कारण आयोजना निर्माण अवरुद्ध नहुने जानकारी दिए । विश्व बैंकले सो आयोजनामा १३ करोड ८० लाख अमेरिकी डलर ऋण सहयोग गर्ने भएपछि सन् २०११ देखि नै आयोजना कार्यान्वयन थालिएको थियो ।
घिसिङका अनुसार विश्व बैंक बाहिरिए पनि सम्झौता गरेको रकमको ७० देखि ८० प्रतिशत रकम लगानी भइसकेको छ । “अब बाँकी रकम सरकारले वा नेपाल विद्युत् प्राधिकरण आफैँले लगानी गर्छ,” उनले भने, “अहिले पनि प्राधिकरणले आन्तरिक स्रोतमार्फत काम गरिरहेको छौँ, सरकारले पनि यसमा बजेट विनियोजन गर्छ होला ।” गोरखापत्र दैनिकबाट








