रुखबाट खसेर ज्यान गुमाएका मजदुरको परिवारलाई राहत

बेनी। म्याग्दीको बेनी नगरपालिका–७ विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाएका एक मजदुरको परिवारलाई नगरपालिकाले क्रिया खर्चसहित क्षतिपूर्ति दिएको छ ।

बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थामबहादुर पुनका आफन्त, नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा नगरपालिकाले क्रिया खर्चसहित रु सात लाख २५ हजार राहत उपलब्ध गराउने सहमति भएको हो ।

सहमतिअनुसार मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्तिसहित निःशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिए।

पिपलको रुखको हाँगा काट्ने क्रममा गत मङ्गलबार लडेर घाइते भएका पुनलाई उपचारका क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्षतिपूर्ति उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै मृतकको परिवारलाई विरेन्द्रचोक टोल सुधार समितिले समेत थप रु ५० हजार राहत दिने प्रतिबद्धता जनाएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =