सोमबारदेखि जोरबिजोर प्रणाली हट्ने, फागुन १ देखि स्कुल खुल्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा निजी सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले सोमबारदेखि निजी सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् ।
कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेका छन् ।
आइतबार बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सोही अनुसार उपत्यकाका सीडीओहरूले कार्यान्वयन गरेका हुन् । यसअघि गृह मन्त्रालय पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरलाई निजि सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन निर्देशन दिएको थियो ।
त्यस्तै फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न पाइने भएको छ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्नुपर्ने छ । परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने जिल्ला प्रशाजन कार्यालय काठमाडौँले जनाएको छ ।
त्यस्तै कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्नु पर्ने काठमाडौ जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।













