निर्वाचन आयोगले पठाएको पत्र लुकाएर राख्नु आश्चर्यजनक : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले निर्वाचन आयोगको एउटा निर्देशनप्रति आपत्ति जनाएका छन् । आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशनप्रति थापाले आपत्ति जनाएका हुन् ।
निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत भएको उनको भनाइ छ । शनिबार सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष थापाले आयोगको निर्देशन अस्वीकार्य भएको पनि बताएका छन् । ‘निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत छ । यो निर्णय अस्वीकार्य छ,’ उनले भनेका छन् ।
आयोगको उक्त निर्देशनसहितको पत्रप्रति नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक भएको उनले उल्लेख गरे । ‘विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ । २०७८ माघ २ गते आयोगले पठाएको पत्रबारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक छ,’ थापाले अगाडि भनेका छन् ।
याे पनि : विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन राप्रपालाई आयोगको पत्र