प्रदेशले पुनः मतगणना नगर्ने, घिमिरेको निवेदन केन्द्रीय निर्वाचन समितिमा

विराटनगर । नेपाली कांग्रेसको प्रदेश समितिको सभापतिका लागि पुनः मतगणनाका लागि परेको निवेदन उपर प्रदेशमा सुनुवाइ नहुने भएको छ । प्रदेश निर्वाचन समितिले सभापतिसहितको पदाधिकारी निर्वाचित घोषणा गरिसकेकाले प्रदेशमा पुनः मतगणना माग गरिएकोमा समितिले सुनुवाइ गर्न नसक्ने जनाएको हो ।

प्रदेश निर्वाचन समितिले आफूले गरेको निर्णय आफैँले उल्ट्याउन नसक्ने अवस्था आएपछि केन्द्रमा लेखेर पठाइएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका गुरुराज घिमिरेले पुनः मतगणना हुनुपर्ने मागसहित निर्वाचन समितिमा अपील गरेका थिए । निवेदनमाथिको प्रदेश निर्वाचन समितिले सुनुवाइ गर्न नसक्ने भएपछि समितिले त्यो बारेमा केन्द्रीय निर्वाचन समितिलाई लिखित पठाएको निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले बताए ।

आज बिहान सार्वजनिक भएको मत परिणामबाट गुरुराज घिमिरेले ८४२ र उद्धव थापाले ८४४ मत पाएका थिए । थापा विजयी भएको घोषण निर्वाचन समितिले बिहान साँढे ३ बजे गरेको थियो । निर्वाचन समितिले घोषणा गरेको परिणाम चित्त नबुझेपछि घिमिरेका समर्थकले परिणाम घोषणा हुँदै गर्दा नाराबाजी गरेका थिए ।

त्यसको लगत्तै बिहान घिमिरेले निर्वाचन समितिमा मत परिणाम चित्त नबुझेकाले पुनः मत गणनाको माग गर्दै समितिमा निवेदन दिएका थिए । प्रदेश निर्वाचन समितिले मत गणनाको परिणाम लिखित रुपमा घोषणा गरेर सार्वजनिक गरिसकेकाले आफ्नो निर्णयबाट पछि हट्ने अवस्था नरहेको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

‘आएको निवेदनको बारेमा केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराइसकेको छु,’ उनले भने, ‘अब यो अधिकार केन्द्रीय निर्वाचन समितिमा गएको छ ।’ केन्द्रीय निर्वाचन समितिले उचित लागेमा पुनः मतगणना गर्न निर्देशन दिन सक्नेछ भने उचित नलागेमा प्रदेश निर्वाचन समितिले निर्णय कार्यान्वायनमा जानेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *