तरलता समस्या समाधान गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यवसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरे ।

विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट सिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ । यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालिन समस्या पुर्याउनेछ,’ उनले भने ।

उनले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताए ।
यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उनले बताए ।

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै उनले राज्यका हरेक संयन्त्रले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताए ।

‘यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो,’ उनले भने, ‘सफल व्यवसायहरुले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि फाइनान्स हुन्छ । विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुन्छ । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ, लगानीको लागि रकम जुटाउँछ र सरकारी राजस्वमा महत्वपूर्ण योगदान गर्छ, त्यसैले निजी क्षेत्रसँग सहकार्य गर्दा विकास र आर्थिक वृद्धि सहज हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *