नेपाली बिजुलीलाई भारतीय बजारमा प्रवेश दिने निर्णयको इप्पानद्वारा स्वागत

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले भारतीले नेपालबाट उत्पादन भएको बिजुलीलाई भारतको प्रतिस्पर्धात्मक बजारमा प्रवेश दिएको भन्दै उक्त सहमतिको स्वागत गरेको छ । इप्पानले बुधबार पत्रकार सम्मेलन गरी भारतले दिएको उक्त सहमतिको स्वागत गरेको हो । नेपालको जलविद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गर्न पहल गर्ने सरकारवाला सबै निकाय र नेतृत्वलाई धन्यवाद तथा बधाई समेत दिएएको छ ।
नेपालको जलविद्युत् क्षेत्रलाई व्यवस्थित र मर्यादित तरिकाले विकास र विस्तार गरी बढीभन्दा बढी जलविद्युत् उत्पादन गरी स्वेदश तथा विदेशमा विभिन्न माध्यमबाट विक्री वितरण गर्न आवश्यक नियम कानूनहरु छिटो निर्माण गर्न समेत इप्पानले माग गरेको छ ।
त्यस्तै बिजुली व्यापारको राजमार्गका रुपमा रहेका ट्रान्समिसन लाइनको विकास गर्दै ह्वीलिङ चार्ज तोक्ने, क्रस बोर्डर इलेक्ट्रिसिटी ट्रेड गाइडलाइन्स बनाउने र विस्तार गर्न पनि सम्बन्धित निकायले तत्काल काम गर्नुपर्नेे बताए ।
बिजुली व्यापारमा निजी क्षेत्रलाई समेत समावेश गर्न पनि इप्पानले माग गरेको छ ।
सरकारले २०७५ सालमा घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट क्षमताको जलविद्युत् निर्माण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र उत्साहका साथ निरन्तर लागि रहेको जनाएको छ ।
ऊर्जा क्षेत्रमा आइरहेका सर्वेक्षण र उत्पादन अनुमतिपत्र तथा बिजुली खरिद बिक्री सम्झौता रोकिएकोले अन्योलपूर्ण अवस्थामा सिर्जना भएको र विभिन्न समाचारहरुले जलविद्युत् क्षेत्रको भविष्यप्रति चिन्ता उत्पन्न गरेको जनाएको छ ।









