तिहारको मौका छोपेर दोब्बर भाडा उठाउँदै टाटा सुमो

काठमाडौँ । तिहार मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो छ । उपत्यकाबाट बाहिरिने नाका मध्येको एक बल्खुमा पनि यतिबेला यात्रुको भीड लाग्ने गरेको छ । तिहार र छठ मनाउन खासगरी हेटौँडा, वीरगञ्जलगायत तराई क्षेत्रमा जानेहरुको लर्को बल्खु नाकामा देखिन्छ । तर, जानका लागि टाटा सुमोको टिकट भने सजिलै पाइँदैन ।
‘२ घण्टादेखि गाडी कुरिरहेको छु, अहिलेसम्म वीरगन्ज जाने सुमो पाएको छैन,’ दीपावली मनाउन आफ्नो घर वीरगन्ज जान लागेका उमेश साहले भने, ‘एउटा गाडी आउँदै छ तर भाडा १५ सय रुपैयाँ लाग्छ भनेको छ । दोब्बरभन्दा बढी भाडा तिरेर पनि जानै पर्यो, नत्र गाडी पाइँदैन ।’
उनी जस्ता समस्या भोग्ने धेरै यात्रु छन् । भाइटीकाका लागि हेटौँडा जान लागेकी उर्मिला कार्की भन्छिन्, ‘सँधै ४ सय ५० रुपैयाँमा जाने गरेको अहिले १ हजार रुपैयाँ भाडा मागिरहेका छन्, नजाऊँ भने अरु गाडी छैनन् ।’
यातायात व्यवसायी पनि हाकाहाकी दोब्बर भाडा मागिरहेका भेटिन्छन् । सुमो धनी तथा चालक श्याम मोक्तानले भने– ‘हेटौंडाबाट काठमाडौं रित्तै फर्किनु परेको छ, दुईतर्फी भाडा नलिएर तेल कसरी हाल्नु अनि नाफा कसरी बचाउनू ?’
हेटौंडा, वीरगन्जदेखि पूर्व सर्लाहीसम्मका यात्रु बोकेर टाटासुमोहरु बल्खु नाकाबाट बाहिरिने गरेका छन् । यी सबै सुमोले यात्रीबाट दुईतर्फीभन्दा पनि ज्यादा भाडा उठाइरहेका छन् । यात्रुको भनेजति भाडा तिर्न बाध्य छन्। चालकले हाकाहाकी दोब्बरभन्दा धेरै भाडा असुल्दा पनि सरकारी कुनै निकायले न अनुगमन गरेको छ न त कारबाही नै ।
कलंकी र कोटेश्वर नाकामा पनि ब्यवसायीले आउँदा यात्रु नहुने भन्दै दोब्बर भाडा असुलिरहेको यात्रुले गुनासो गरेका छन् ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी संघहरु, ट्राफिक प्रहरीले चाडबाडका बेला यात्रुको सहजताका लागि ‘हेल्प डेस्क’ समेत राख्ने गरेका छन् । तर, बढी भाडा असुल्ने, भएका गाडी लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने र दोब्बर भन्दा बढी भाडा उठाइसकेपछि मात्र गाडी बस पार्कमा ल्याउने जस्ता कार्य खुलेआम रुपमा भइरहेको यात्रुले बताउने गरेका छन् ।









