बैंककाे पहुँच बागमती प्रदेशमा केन्द्रित : राष्ट्र बैंक

काठमाडौँ । नेपालमा वित्तीय संस्थाको पहुँच र वित्तीय संस्थाबाट हुने स्रोतको परिचानल बागमती प्रदेशमा बढी केन्द्रित भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । नेपालको संघीय संरचनाअनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान अध्ययन प्रतिवदनले यस्तो देखाएको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरु बागमती प्रदेशमा बढी केन्द्रित रहेको र यस्ता बैंकले प्रवाह गर्ने वित्तीय परिचालन समेत बागमती प्रदेशमा बढी केन्द्रित भएको एक्त प्रतिवेदनले देखाएको हो ।
त्यस्तै यस्ता वित्तीय संस्थाको पहुँच र स्रोत परिचालन कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ ।
प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ ।
अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।
पछिल्ला वर्षहरूमा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ ।
सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएकोे छ । तर, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।
अध्ययनले खासगरी प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ ।
यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवर्द्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरेको छ ।
वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि यो अध्ययन खास गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको राष्ट्र बैंकले जनाएको छ ।









