एमाले पोखरामा पालिका अधिवेशन सकियो, वडा अझै अन्योलमा

पोखरा । पोखरामा वडा अधिवेशन नै नसकिई पालिका अधिवेशन सकिएको छ । ६ गते नै वडा अधिवेशन उद्घाटन भएकोमा पोखरा महानगरपालिकाको वडा नं. २० र २१ मा अहिलेसम्म टुंगिएको छैन । वडाबाट प्रतिनिधि आएर महानगरको अधिवेशन सकिँदासम्म वडाको सकिएको छैन ।

दुवै वडाले महानगर अधिवेशनका लागि प्रतिनिधि भने छनोट गरेर पठाएका छन् । नेतृत्वमा धेरैको दाबीपछि वडा अधिवेशनमा सहमति नभएको हो । २० नम्बर वडामा भने तयारी नपुगेका कारण स्थगित गरिएको अध्यक्ष भीमप्रसाद बास्तोलाले बताए ।

‘६ गते अधिवेशन भनेर ४ गते साँझ निर्देशन आयो । पार्टीको लेटरप्याड र छाप पनि नेकपाको नाममा थियो । प्रतिवेदन बनाउने समय भएन,’ उनले भने, ‘यति हतारमा अधिवेशन गर्दा कमिटी कस्तो बन्छ ? हामी सक्दैनौँ भनेपछि जिल्ला पार्टीले नै सहमति दिएको हो ।’

उनका अनुसार शुक्रबार वडा अधिवेशन बोलाइएको छ । महानगरका प्रतिनिधि पनि हतारहतारमा बिनातयारी छनोट गरेर पठाइएको उनले सुनाए ।

वडा नं. २१ मा उम्मेद्वारबीच कुरा नमिलेपछि अधिवेशन रोकिएको छ । ‘यहाँ निर्मलपोखरी र कृष्ती दुई वटा भूगोल छ । कृष्तीबाट दुई जनाले दाबी गर्नुभएको छ, निर्मलपोखरीबाट एक जना हुनुहुन्छ,’ एक नेताले भने, ‘कृष्तीका साथीहरू मिल्न पनि सक्नुहुन्न । मतदानमा जानबाट पनि रोक्नुहुन्छ ।’

त्यहाँ कृष्तीबाट दीपक सुवेदी र राजेन्द्र थापा उम्मेदवार छन् भने निर्मलपोखरीका अर्जुन गिरी छन् । सहमतिमा आउन नसकेपछि अनिश्चितकालका लागि अधिवेशन रोकिएको अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

‘उम्मेदवार धेरै हुनुभयो, फिर्ता लिन मान्नुभएन । चुनाव नगर्नु भन्ने माथिको निर्देशन छ,’ उनले भने, ‘यस्तो बेला कसरी निकास दिने त ? अब जिल्लासँग समन्वय गरेर छिटै सक्छौँ ।’ नगरप्रतिनिधि भने पुरानै कमिटीको निर्णयबाट टुंगो लगाइएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =