संकटका बेला पनि प्रदेशका मन्त्री र सांसदलाई दसैं भत्ता

पोखरा । गण्डकी प्रदेशका सांसदहरूले दसैं भत्ता पाएका छन् । ५९ सांसद (एक रिक्त) रहेको गण्डकी प्रदेशसभाका ११ मन्त्री बाहेक सबै सांसदलाई शुक्रबार दसैं भत्ता खातामा जम्मा गरिएको छ । संसद् सचिवालयले सांसदको पद र पारिश्रमिकअनुसार रकम खातामा जम्मा गरिदिएको हो ।

‘स्वकीय सचिवहरूको बुधबार गइसकेको छ । आज सांसदहरूको पठाइयो,’ संसद् सचिवालयलका लेखापाल तुलसी आचार्यले भने, ‘सबैलाई एक महिनाको बेसिक तलब बराबरको रकम भत्ता स्वरुप दिइएको छ । केही स्वकीय सचिवले भने चैतमा पाउँछन् ।’

सुविधा ऐन संशोधन भएपछि चालू वर्षबाट सभामुखको मासिक पारिश्रमिक ६३ हजार ४८० पुगेको छ । उपसभामुख र विपक्षी दलको नेतालाई ६० हजार, अन्य दलको नेतालाई ५९ हजार ५००, दलको उपनेतालाई ५८ हजार ४८०, प्रमुख सचेतक र समिति सभापतिको ५८ हजार ४८०, दलको सचेतकको ५६ हजार ५२०, सांसदहरुको ५४ हजार २०० पाएका छन् । उनीहरुका स्वकीय सचिवले ३० हजार २०० रुपैयाँ पाउने व्यवस्था छ ।

सांसद र पदाधिकारीहरुलाई मात्रै करिब ३० लाख रुपैयाँ निकासा गइसकेको सचिवालयले जनाएको छ भने स्वकीय सचिवहरूलाई १० लाख हाराहारीमा निकासा दिइएको छ । बाँकी स्वकीय सचिवले चैतमा भत्ता बुझ्ने बताइएको छ । अघिल्लो वर्ष जनता समाजवादी पार्टी बाहेक कुनैपनि सांसदले दसैं भत्ता लिएका थिएनन् । सचिवालयले खातामा पठाएको भत्तासमेत सांसदले नलिने निर्णय गरेपछि फिर्ता गरेर कोभिड कोषमा जम्मा गरिएको थियो ।

सुरुमै नेपाली कांग्रेसले भत्ताको विरोध गर्दै आफ्ना सांसदको दसैं भत्ता कोभिड कोषमा दिने निर्णय गरेको थियो । पछि एमाले, माओवादी र जनमोर्चाले पनि सोही निर्णय गर्‍यो । जनता समाजवादीका दुई सांसदले भने भत्ता अस्वीकार गरेनन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले भने यो वर्ष पनि भत्ता पाएका छैनन् । प्रदेशसभाका सांसदजस्तै मन्त्रीहरूको भत्ता पनि खातामा जम्मा भइसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । तर कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले दसैं भत्ता कोभिड कोषमा जम्मा गर्ने बताएका छन् । उनले मन्त्रीको सुविधा पनि नलिने घोषणा गरेका थिए । उनले सांसद हुँदाको तलब सुविधा भने सामाजिक क्षेत्रमा खर्च गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *