ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण

दाङ । दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गतवर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी १५ र बोकाको खरिद मूल्यमा ४५ रुपैयाँले वृद्धि गरिएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी ५४५ रुपैयाँ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।

गतवर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको ५५० रुपैयाँ र त्योभन्दा माथिकोलाई प्रतिकेजी ५३५ रुपैयाँका दरले खरिद मूल्य निर्धारण गरिएको थियो । त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी ५५० रुपैयाँका दरले कम्पनीले खरिद गरेको थियो ।

कम्पनीले गत वर्ष दशैँमा ८०१ वटा खसीबोका काठमाडौँ पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखितरुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए ।

दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोेका खरिद गरि काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उनको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौँ पुग्ने गरी पठाउने तयारी भएको छ ।

लिमिटेडले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =