एनआरएनएको अध्यक्षमा आचार्यको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एनआरएनएका पूर्वउपाध्यक्ष आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आइएलओको सहयोगबाट सञ्चालित परियोजनामा भएको अनियमतिताको छानवीन गर्न माग गरेका छन् ।
आचार्यले आफू निर्वाचित भएमा संस्थाभित्र गरिएका अनियमितताहरूलाई बाहिर ल्याउने घोषणा गरेका छन् । उनले संघभित्र सानो समूहले चरम दुरुपयोग गरिसकेपछि ठूलो समूहमाथि दोष लगाउने गरेको बताए ।
‘एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरूको साझा संस्था बनाउने मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु, पैतृक सम्पतिको अधिकार, राहदानीसहित तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु,’ आचार्यले भने ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरूको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरेका छन् ।
हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरू निष्क्रिय रहेका छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।
गैरआवासीय नेपालीहरूलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरूलाई पनि जोड्ने आचार्यको योजना रहेको छ । उनले थाइल्यान्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने घोषणा गरे ।
पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन्, समाजसेवी पनि हुन् ।
करिब दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।








