यूएईसँग व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

काठमाडाैँ । नेपाल र संयुक्त अरव इमिरेट्स् (युएई) बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नु पर्नेमा जोड दिइएको छ।

द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवर्द्धनमा दुुवै देशबीच गृहकार्य हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघले जोड दिएको हो।

नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाकवी र महासंघका अध्यक्ष शेखर गोल्छा बीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको हो।

नेपालले द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा बेहोर्दै आएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०/२१ मा ३६ अर्बभन्दा बढीको व्यापार घाटा भएको छ।

सन् २०१९/२० मा करिव १८ अर्ब र २०१८/१९ मा ३५ अर्बको व्यापार घाटा थियो। नेपालले तयारी पोसाक, हाते गलैँचा तथा हस्तकलाका सामानहरू, मुसुुरो दाल लगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ।

त्यस्तै सुन तथा चादी, खनिज तेल, प्लास्टिक तथा प्लास्टिकजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स लगायत वस्तुहरु आयात गर्छ।

नेपालको प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरव इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइएको छ।

हवाई मार्गबाट नजिक रहेका नेपाल र यूएई बीच पर्यटन, सहकार्यको अर्को कडी हुन सक्ने उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =