मेलम्ची खानेपानी आयोजना पुन:स्थापना कार्ययोजना तयार

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना विकास समितिले बाढीपहिरोले क्षतीग्रस्त उक्त आयोजनाको हेडवर्क्स क्षेत्रका संरचना पुनर्निर्माणको काम अघि बढाउन सेनाको सहयोग लिने भएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले उक्त आयोजनाको पुन:स्थापनाका लागि कार्ययोजना बनाएको र उक्त कार्ययोजनामा सेनाको सहयोग लिने उल्लेख गरिएको समितिका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) राजेन्द्र पन्तले मकालु खबरलाई बताए ।
‘खानेपानी आयोजनाको पुन:स्थापनाको काम अघि बढाउन सेनाको पनि सहयोग लिने कार्ययोजना बनेको छ,’ उलने भने, ‘विषेश र जटिल कामका लागि सेनाको सहयोग लिने भन्ने प्रस्ताव कार्ययोजनामा गरिएको छ ।’
रक्षा मन्त्रालयमार्फत उक्त प्रस्ताव सेनासम्म पुग्न बाँकी छ । यद्यपी, प्रस्तावका विषयमा समितिले नेपाली सेनासँग पनि अनौपचारिक छलफल गरिरहेको र उक्त प्रस्तावप्रति सेना सकारात्मक रहेको उनले बताए ।
कार्ययोजनालाई मन्त्रिपरिषद्मा लगेर पास गर्न भने बाँकी छ । २ दशकभन्दा बढी समयमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको केही महिनामै बाढी र पहिरोले उक्त खानेपानी आयोजनाको बाँध तथा इन्टेक क्षेत्र क्षतिग्रस्त बनाएको थियो । उक्त क्षेत्रका भौतिक संरचना निर्माणका लागि २ अर्ब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यद्यपी यो रकममा थपघट हुने सक्ने प्रवक्ता पन्तको भनाइ छ ।
२०८० को कात्तिकसम्ममा काम सक्ने गरी आयोजना पुन:स्थापनाको कार्ययोजना बनाइएको भए पनि कार्ययोजना मन्त्रिपरिषद्बाट पास नहुँदासम्म काम सुरु हुने मिति किटान हुन सकेको छैन ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने भेम्राथाङमा गएको असार १ मा गएको पहिरोले थुनिएको मेलम्ची खोलाको पानी एकैपटक खुल्दा आएको बाढीले आयोजनाको मुहान रहेको अम्बाथानस्थित भौतिक संरचाना, आयोजनासम्म पुग्न बनाइएको पहुँच मार्ग, ३ ओटा बेलिब्रिज र दुई ओटा पक्की पुलसमेत बगाएको थियो । धेरैजसो संरचना पुरिएको छ ।
अब उक्त आयोजनाको क्याम्प पुननिर्माण गर्नुपर्ने छ । त्यस्तै, मेलम्ची बजारमा रहेको मुख्य क्याम्प मर्मत, विद्युत्, खानेपानी जस्ता सेवा सुचारु गर्नुपर्ने छ ।
उक्त कार्य सीना होइड्रो कम्पी र नेपाली सेनालाई जिम्मा दिने कार्ययोजनाको प्रस्ताव छ । त्यस्तै रिबर्मादेखि हेडवर्क्ससम्म २.५ किलोमिटर वैकल्पिक पहुँच मार्ग खोल्ने काम गाउँपालिकाको उपभोक्ता समितिले जिम्मा दिने प्रस्ताव छ । डाइभर्सन र अडिट टनेल तथा हेडवर्क्सको भग्नावेशन संरचना सफा गर्ने, अस्थायी ड्याम बनाउनेलगायत काम सेनालाई नै दिने योजना छ ।
आयोजनाको मुहानदेखि माथिल्लो तटमा रहेको क्षेत्रको पहिरो र बाढी आउन सक्ने सम्भावनाको स्थायी समाधान नभई पुनः संरचना निर्माण गर्नुपर्ने जोखिमपूर्ण रहेको उनले बताए ।









