सीएनआईद्वारा उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन

काठमाडौँ । नेपाल उद्योग परिसंघ(सीएनआई) ले उत्पपत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन गरेको छ । सीएनआईका राष्ट्रिय परिषद् सदस्य अमित मोरको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । नेपालमा उत्पादन भएको बस्नुतको निकासीका लागि आवश्यक उत्पत्तिको प्रमाणपत्रलाई व्यवस्थित र सहजीकरण गर्न उक्त समिति गठन गरिएको सीएनआईले जनाएको छ ।
उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधिको व्यवस्था अनुसार समितिले नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहज र सरल रुपमा निर्यातकर्तालाई उपलब्ध गराउने जनाएको छ ।
सरकारले जारी गरेको कार्यविधि अनुसार हाल परिसंघले साफ्टा तथा अन्य मुलुकका लागि आवश्इक उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको छ ।
उद्याेग विभागअन्तर्गतको उत्तपत्तिको प्रमाणपत्र सम्बन्धी प्राविधिक समितिको सदस्यको रुपमा हालै सीएनआई चयन भएको थियो । परिसंघले भारतमा निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
‘सबै किसिमका उत्तपत्तिका प्रमाणपत्र जारी गर्न सक्ने गरी परिसंघ तयार भइसकेको छ,’ संयोजक मोरले भने ।
सरकारले सञ्चालनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वारा प्रणालीअन्तर्गत परिसंघले तेस्रो मुलुकमा निकासीलाई आवश्यक उत्पत्तिको प्रमाणपत्र विद्युतीय माध्यमबाट समेत जारी गरिरहेको जानकारी दिँदै उनले निकट भविष्यमा भारत, साफ्टा तथा अन्य द्विपक्षीय व्यापार सम्झैता अन्तर्गतका उत्तपत्तिका प्रमाणपत्रहरुसँग विद्युतीय माध्यमबाट जारी गर्ने तयारी गरिरहेको उनले बताए ।
परिसंघले आफ्ना सदस्य संस्था तथा निर्यातकर्तालाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धमा कुनै बाधा वा समस्या परे सम्पर्क गर्न समेत आग्रह गरेको छ ।
नवगठित उक्त समितिको सह–संयोजकमा राहुल अग्रवाल रहेका छन् । त्यस्तै सदस्यहरुमा राजेशकुमार अग्रवाल, नरेश दास, मनिष खेम्का, राजीव गुप्ता, सन्दिप शारडा, विदुषी राणा र सौरभ दुगड रहेका छन् ।









