ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

काठमाडौँ । ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर शुक्रबार सम्पन्न भएको छ ।
पाटनको गाःबहाल टोलको दुनेचोकमा नृसिंहलाई विशेष तान्त्रिक पूजा गरेपछि शुरु भएको जात्रा पाटनका विभिन्न ठाउँ परिक्रमा गरी पुन: गाबहालमै पुगेर समापन भएको हो ।
ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा संचालन गर्ने चलन छ । यसपाली गाबहालका कोमलेशाननद राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको थियो ।

नृसिंह जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिंहसहित लक्ष्मी, सरस्वती, भक्त प्रह्लादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।
तर यसपटक कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले जात्रा साधारण किसिमबाट मात्र सञ्चालन गरेको हो । कार्तिक नाचका क्रममा निस्कने नृसिंहलाई उग्र रुपको नृसिंह मानिन्छ भने भदौमा निस्कने नृसिंहलाई शान्त स्वभावको नृसिंहका रुपमा लिइन्छ ।
यो जात्रा नेपाल सम्वत् ७५१‚ अर्थात् विक्रम सम्वत् १६८८ देखि निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ ।









