चुलिँदै व्यापार घाटा : साढे १५ खर्बको आयात, डेढ खर्बको निर्यात

काठमाडौँ । गत आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब ८४ करोड रुपैयाँको वस्तु आयात हुँदा १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ । यस तथ्यांकको आधारमा नेपालको वैदेशिक व्यापार घाटा १३ अर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

यो घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २७.३ प्रतिशतले बढी हो । यद्यपी अघिल्लो वर्ष २०७६/७७ मो कोभिड संक्रमणका कारण समग्र आयात कम हुँदा व्यापार घाटा पनि १६ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ५१.७ प्रतिशत, अन्य मुलुकतर्फ २७.७ प्रतिशतले निर्यात बढेको भएको छ । तर, चीनतर्फकाे निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।

यो वर्ष सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो ।

भारतबाट ३२.१ प्रतिशत, चीनबाट २८.६ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९.६ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपूर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयात बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा खुद सेवा आय २ अर्ब ८५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ९६ करोड ४७ लाखले घाटामा थियो ।

आर्थिक वर्ष २०७७/७८ मा सेवा खाताअन्तर्गत भ्रमण शीर्षकको आम्दानी ८८.१ प्रतिशतले घटेर ७ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ६० अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

व्यापार घाटाले बढायाे चिन्ता 

आयात बढ्दा यसले शोधनान्तर बचत तथा विदेशी विनियम सञ्चितिकोको अवस्था कमजोर बन्दै गएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चिन्ता व्यक्त गर्दै आएका छन् । कोभिड महामारीका बेला समेत आयात बढेर वैदेशिक घाटा बढ्दै जाँदा अवस्था सामान्य हुँदा यो घाटा अझ बढ्ने भन्दै उनले चिन्ता व्यक्त गर्दै आएका छन् । व्यापार घाटा घटाउने नीति निर्माणका लागि पहल लिन उनले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =