रेमिट्यान्स बढ्यो, एकै वर्ष साढे ९ खर्ब भित्रियो

काठमाडौँ । गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ९.८ प्रतिशतले बढेको छ । गत वर्ष ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक अवस्था प्रतिवेदनले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या भने घटेको देखाएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको देखाएको छ ।
अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४.७ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई रु.१०७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।









