एचआईडीसीएललाई पूर्वाधार बैंकमा रुपान्तरण गर्ने तयारी

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)लाई पूर्वाधार बैंकमा रुपान्तरण गर्न छलफल सुरु भएको छ । नेपालमा हाल एक मात्र नेपाल पूर्वाधार बैंक लिमिटेड रहेको छ । अब उक्त बैंक जस्तै पूर्वाधारको क्षेत्रमा लगानी गर्न सक्ने बैंकको रुपमा विकास गर्ने गरी एचआईडीसीएल बैंकका रूपमा अघि बढाउने अवधारणा अघि सारिएकाे एचआईडीसीएलका प्रवक्ता (आर्थिक विश्लेषक) जीवन कुमार बस्नेतले बताए ।
‘एचआईडीसीएललाई पूर्वाधार बैंकमा रुपान्तरण गरेर अघि बढ्दा अझ राम्रो हुने अपेक्षासहित यो अवधारणामा प्रारम्भिक चरणका छलफल हुन थालेको छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकबाट पूर्वाधार बैंकको मान्यता पाउन चुक्ता पूँजी न्यूनतम २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । उक्त सीमा एचआईडीसीएलले पूरा गर्न लागिसकेको छ । ‘एचआईडीसीएलले राइट सेयर जारी गरेसकेपछि यसको चुक्ता पूँजी करिब २२ अर्ब रुपैयाँ पुग्दैछ,’ उनले भने, ‘चुक्ता पूँजीको हिसाबले एचाआईडीसीएललाई पूर्वाधार बैंक बनाउन सक्ने हैसियतमा पुर्याइएको छ ।’
पूर्वाधार बैंकले खास गरी ठूला पूर्वाधारहरुमा लगानी गर्ने गर्दछ । एचआईडीसीएलको स्थापना पनि जलविद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्ने संस्थाको रुपमा गरिएको हो । यद्यपी, जलविद्युत्को क्षेत्रमा मात्रै लगानी गर्दा कम्पनीको आर्थिक अवस्थामा खासै सुधार नदेखिएको र लगानीको क्षेत्र सीमिति भएको भन्दै यसलाई जलविद्युत्सहित सबै किसिमका पूर्वाधार आयोजनामा लगानी गर्न सक्ने गरी पूर्वाधार बैंकमा रुपान्तरण गर्न खोजिएको हो ।
‘यसबारे कुनै निर्णय भएको छैन,’ प्रवक्ता बस्नेतले भने, ‘तर बोर्डमा छलफल भने भएको हो, कम्पनीलाई बैंकमा रुपान्तरण गर्दा हुने लाभ हानीका विषयमा अध्ययन अघि बढाउने विषयमा छलफल भएको हो । र, यही अवश्थामा एचआईडीसीएल अघि बढ्दै सक्दैन भन्ने निष्कर्ष चाहिँ बोर्डले पनि निकालेको छ ।’
उनका अनुसार एचआईडीसीएलले विभिन्न जलविद्युत् परियोजनामा प्रवर्द्धक सेयरसहित स्वपूँजी र सेयर नलिइ ऋण गरी झण्डै ६ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । त्यस्तै, विभिन्न आयोजनामा करिब ४० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरिसकेको छ ।
एचआईडीसीएलले रेमिट हाइड्रो लिमिटेड र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड गरी दुई सहायक कम्पनीमार्फत जलविद्युत् आयोजनामा स्वपूँजी लगानी गरेको छ ।
ताप्लेजुङ जिल्लामा ७५.६ मेगावाटको सिम्बुवा खोजा जलविद्युत् परियोजनालाई एचआईडीसीएलले रेमिट हाइड्रोको रुपमा आफ्नो सहायक कम्पनी मार्फत प्रवद्र्धन गरेको हो । विदेशमा आम नेपालीले आर्जन गरेको विप्रेषण रकम भोलिका लागि उनीहरुको सामाजिक सुरक्षाको आधार बन्न सकोस् भन्ने अवधारणाबाट रेमिट्यान्सको पैसाले उक्त कम्पनीको सेयरमा लागनी गर्ने व्यवस्था सहित रेमिट हाइड्रो अघि बढाउन लागिएको हो ।
त्यस्तै रेमिट हाइड्रो कम्पनीले ताप्लेजुङमै रहेको घुन्सा खोलामा ७१.५ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विगभागबाट सर्वे लाइसन्स प्राप्त गरेर प्रक्रिया अघि बढाएको छ ।









