सेबोन र नेप्से प्रमुखमाथि अनुसन्धान जारी छ : अर्थमन्त्री शर्मा

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ प्रकरणसँग जोडिएका नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृतमाथि अनुसन्धान भइरहेको बताएका छन् । उनीहरुमाथि आन्तरिक रुपमा मन्त्रालयले अनुसन्धान गरिरहेको र छिट्टै प्रतिवेदन बाहिर आउने उनले बताएका छन् ।
संसदको अर्थ समितिको बैठकमा उपस्थिति भएर मन्त्री शर्माले शुक्रबार यस्तो जानकारी दिएका हुन् । अर्थ समितिले धितोपत्र बजारका दुबै नियामक सेबोनका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्से प्रमुख चन्द्रसिंह साउदलाई बोलाएर जावाफ मागिसकेपछि छलफलका लागि शुक्रबार मन्त्री शर्मालाई बोलाएको थियो ।
समितिको बैठकमा जानकारी दिँदै मन्त्री शर्माले मन्त्रालयले उक्त प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय समिति बनाएर काम गरिहेको र प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए ।
छानबिन प्रतिवेदन सार्वजनिक भएपछि मात्रै यसबारे कसरी अघि बढ्ने भन्ने निर्क्याैल गर्न सकिने उनको भनाइ छ ।
यसअघि अर्थसमितिले समेत दुबै निकायसँग स्पष्टिकरण माग गरेको थियो । पछि दुबै संस्थाका विवादित प्रमुखसँग समेत व्यक्तिगत रुपमा स्पष्टिकरण मागिसकिएको समिति बैठकलाई अर्थसमिति मधुकुमार मरासिनीले जानकारी गराए ।
नियामक निकाय सेबोन अध्यक्ष ढुंगानाकी छोरी र नेप्सेका सीईओ साउदकी श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयरको इन्साइडर ट्रेडिङ भएको पाइएपछि यो विषयमा विवाद उत्पन्न भएको छ ।









