सेबोन र नेप्से प्रमुखलाई निलम्बन गरी छानविन थाल्न सांसदहरुको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन)का अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई निलम्बन गरी छानबिन गर्न सांसदहरुले माग गरेका छन् । नियामक निकायमा बसेर सर्वोत्तम सिमेन्टको सेयरमा इन्साइडर ट्रेडिङमा संलग्न रहेको भन्दै विवादित बनेका बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउद पदमा बसिरहँदा छानबिन प्रभावित हुने भन्दै निलम्बन गरी छानबिन थाल्न सांसदहरुले माग गरेका हुन् ।

संसदको अर्थ समितिको शुक्रबार बसेको बैठकमा सदस्य सांसदहरुले अर्थमन्त्री जनार्दन शर्मासँग यस्तो माग गरेका हुन् । उक्त विषयमा छानविन गर्न बहालवाला वा पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन समेत उनीहरुले माग गरेका छन् ।

समितिको बैठकमा बोल्दै सांसद सुरेन्द्र पाण्डे भने– ‘पूर्व न्यायाधीश नै त भन्दिन, माथिल्लो लेभलबाट छानबिन अनुसन्धान हुनुपर्छ ।’

सांसद रामबहादुर यादवले विवादमा परेका व्यक्तिहरु दाषी देखिएकोले तत्काल उनीहरुलाई निलम्बन गरी छानबिन गर्न माग गरे ।

त्यस्तै सांसद सत्या पहाडीले दोषीलाई कारवाही नहुँदा यसले गलत संस्कार बस्ने बताइन् ।

सांसद रामकुमारी झाँक्रीले बोर्डका कर्मचारीहरुबाट बोर्ड अध्यक्षका विषयमा धेरै प्रश्न उठिरहेकोले यसलाई सामान्य रुपमा नलिई दाषीलाई तत्काल निलम्बन गरी छानबिन अघि बढाउन माग गरिन् ।

सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट सेयरको प्राथमिक सार्वजनिक निष्कासन गर्ने तयारी गरेको केही समयअघि मात्रै बोर्ड अध्यक्ष ढुंगानको छोरी र नेप्सेका सीईओ साउदका श्रीमतिको नाममा उक्त कम्पनीको सेयर खरिद भएको पाइएपछि यस विषयमा विवाद हुँदै आएको छ ।

बोर्ड अध्यक्ष ढुंगानाले भने सेयर खरिदमा छोरी स्वतन्त्र रहेको र एकाघरको परिवार नभएकोले कानुनले बन्देज नगरेको जवाफ अर्थसमितिलाई दिइसकेका छन् ।

त्यस्तै, नेप्सेका सीईओ साउदले भने आफूलाई सेयर खरिदमा वर्तमान कानुनले बाधा नपर्ने र उक्त कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा नआएकोले आफूले खरिद गर्न पाउने जवाफ अर्थसमितिलाई दिएका छन् ।

दुबै प्रमुखको जवाफप्रति भने सांसदहरुले चित्त नबुझेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =