‘जय नेपाल’ बनाउने तयारीमा स्वराङ्क

काठमाडौँ । विश्वमै फैलिएको कोरोना भाइरसका कारण चलचित्र क्षेत्र अन्य क्षेत्रभन्दा बढी नै प्रभावित भएको छ । करोडौँ लगानी फ्रिज भएको छ । ठुलो लगानीमा तयार भएका चलचित्र हलहरू धमाधम बन्द भइरहेका छन् । तर यही खाली समयको परिणाम हुनुपर्छ नेपाली चलचित्रलाई विश्वमाझ चिनाउन चलचित्रकर्मी निरन्तर लागि परिरहेका छन् ।

निर्माता, निर्देशक सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ लाई हिन्दी डब गरेका छन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम भारतमा गरेका उनको आगामी प्रोजेक्टमा भारतीय चलचित्र जगतका प्राविधिक रहने सम्भावना उच्च छ । त्यस्तै निर्माता निर्देशक मुकुन्द भट्ट चलचित्र ‘एक्स नाईन’ मा भारतीय कलाकारलाई अभिनय गराउन हर सम्भव प्रयास गरिरहेका छन् ।

निर्देशक दिवाकर भट्टराई निर्माता बन्दै गरेको चलचित्र ‘तिमीसँगै हुन मन छ’मा धेरै कलाकार र प्राविधिक भारतबाटै नेपाल ल्याएर काम गराउने योजनामा थिए । तर कोरोनाका कारण उनको प्रोजेक्ट रोकिएको छ ।

भारतमा सङ्घर्ष गरिरहेका नेपाली स्वराङ्क देवकोटा भने लामो समय बलिउडमा काम गरेर नेपाल फर्किएका छन् । लकडाउनका कारण भएको निषेधाज्ञामा ६० दिनसम्म एकै स्थानमा थुनिएर रहँदा उनमा नेपाली चलचित्र जगतका लागि केही गर्ने सोच आएको थियो । यही सोचलाई सार्थक रूप दिन उनी लामै समय यता नेपालमा रहेर चलचित्रकर्मीसँग हिमचिम बढाइरहेका छन् ।

उनले तयार गरेको चलचित्रको स्क्रिप्टमा उनले राजेश हमाललाई नै कल्पिएर पात्र तयार गरेका छन् । ‘जिन्दावाद’ नाम दिएर चलचित्र बनाउने उनको योजना थियो । तर बुद्धि सागर र निश्चल बस्नेतले उक्त नामको चलचित्रबारे अनाउन्स गरेसँगै उनले चलचित्रको नाम ‘जय नेपाल’ राख्ने निर्णयमा पुगेका छन् ।

यो नाम कुनै पार्टी निकटभन्दा पनि नेपाल देश प्रतिको प्रेम झल्काउने भएको देवकोटा बताउँछन् । चलचित्रमा अनमोल केसीलाई लिने उनको योजना रहेको र पटक पटक भेटघाट र कुराकानी चलिरहेको छ । उनले चलचित्रका लागि भारतीय टेलिभिजनकी कलाकार हिना खानलाई फाइनल गरेका छन् । त्यस्तै खलीको राजेश हमालसँगको एक फाइट सिन दुबईमा हुने उनले बताएका छन् । चलचित्रको छायाङ्कन बेलायत, दुबई, भारत र नेपालमा हुनेछ ।

देवकोटा भारतीय चलचित्रकर्मी सागर सरहदीको विद्यार्थी हुन् । सागरको असिस्टेन्ट भएर उनले लामो समय काम गरेका छन् । उनले बलिउडकर्मी सुवास घईसँग समेत केही औपचारिक ज्ञान लिएका छन् । कक्षा ११ अध्ययन गर्दै गर्दा नै उनले श्रेष्ठ अभिनेताको रूपमा सम्मान पाएका थिए ।

त्यसपछि उनले दूरदर्शन च्यानलका केही सिरियलमा मुख्य सहायक निर्देशकको रूपमा काम गरेका छन् । श्रद्धा गाउँ कि बेटी, मे खुसबु तेरे आगनकी र दास्ताने ए हिन्द सिरियलमा उनीसँग करिब ३ वर्ष काम गरेको अनुभव छ । सागर सरहदीको चलचित्र ‘चौसर’ मा समेत उनले सहायक निर्देशकको रूपमा काम गरेका छन् । भारतमा नै हुने रियालिटी शो ‘स्टार रकर’ को निर्देशक तथा होस्टको रूपमा उनी अनुबन्धित भएका छन् । तर कोरोना भाइरसको कारण काम रोकिएको देवकोटा बताउँछन् ।

‘जय नेपाल’ चलचित्र विश्वभर एकै मितिमा एक साथ रिलिज गर्नेगरी निर्माण गर्ने देवकोटाको तयारी छ । यस चलचित्रमा निर्माण, लेखन तथा निर्देशन देवकोटा स्वयम्ले गर्दैछन् । एक जड्याहा साइको (अल्कोहलिक साइको) कसरी देशभक्त राक्षस (पेट्रियोटिक मन्स्टर) बन्छ भन्ने कथामा आधारित भएर चलचित्र निर्माण हुनेछ ।

राजेश हमाल चलचित्र ‘शिवम’मा अनुबन्धित भइसकेका छन् । त्यस्तै ‘म राजेश हमाल’ चलचित्र निर्माण गर्दै गरेका केदार भुसालसमेत राजेशलाई केमियो रोलमा लिन हरसम्भव प्रयास गरिरहेका छन् । त्यस्तै अनमोल केसी हालै चलचित्र एक्स नाइनमा अनुबन्धित भएका छन् ।

उनको होम प्रोडक्सन चलचित्रको समेत कुराकानी चलिरहेको छ । यस्तोमा राजेश र अनमोलले देवकोटाको चलचित्रका लागि कतिको समय दिन भ्याउँछन्, समयले बताउला ।

खैर, बलिउडको अनुभव सँगालेर नेपाल आएका देवकोटाको फरक नेपाली चलचित्र निर्माण गर्ने सपना पुरा होस्, शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =