दुई हजार मेगावाट विद्युत् प्रसारण हुने कोसी करिडोर सञ्चालनमा

काठमाडौं । कोसी करिडोर विद्युत् प्रसारण लाइन (२२० केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । उक्त प्रसारण लाइनको निर्माण सकिएर ३ भदौबाट सञ्चालनमा आएको आयोजना प्रमुख राजन  ढकालले जानकारी दिए । १ सय ६ किलोमिटर लामो उक्त प्रसारण लाइन ३३ केभी क्षमतामा सञ्चालनमा ल्याइएको उनले बताएका छन् । उनले आयोजनामा काम गर्ने सम्पूर्ण कर्मचारी साथीहरूको लगन, मेहनत र निष्ठाका कारण उक्त प्रसारण लाइन सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

यो प्रसारण लाइनअन्तर्गत पहिलो खण्ड निर्माण सम्पन्न भएको हो । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ ।

प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको उनले बताए ।

ढकालका अनुसार इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रुपमा ३३ केभीमा सञ्चालन गरी गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत प्रवाह गरिने छ ।

यसले वर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको हुने भएको छ ।

संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइने छ ।

तिरतिरे–बसन्तपुर–धनकुटा–धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु वर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् ।आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ ।

संखुवाभाको तुम्लिङटार तथा बानेश्वर र तेह्रथुमको बसन्तपुरमा गरी ३ वटा सबस्टेसनको निर्माण गरिएको आयोजना प्रमुख ढकालले जानकारी दिए ।

‘निर्माण चरणमा विभिन्न अवरोधहरु छिचोल्दै निरन्तरको प्रयासबाट सबैको साथ र सहयोगमा काम सक्न सफल भएका छौं’, उनले भने, ‘निर्माणाधीन अन्य प्रसारण लाइन आयोजनाको तुलनामा ठूलो र लामो लाइन छिट्टो निर्माण सम्पन्न भएर रेकर्ड पनि कायम भएको छ ।’

नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो ।

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।

करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ । दोस्रो प्याकेजमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण गरिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ ।

तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३५ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । १ सय ३२ वटा टावर निर्माण गर्नु पर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =