२१६ मेगावाटकाे माथिल्लो त्रिसुली–१ निर्माण सुरु

काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिसूली–१ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युतगृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल’को काम मंगलबार सुरु भएसँगै आयोजनाको निर्माण सुरु भएको छ । २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो बिष्फोट गराइएको छ । मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको छ ।
आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामाग्रीको परीक्षण, पहुँच सडकका लागि त्रिसूली नदीमा बेली ब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङतर्फको पहुँच सडक निर्माण लगायतका काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । निर्माणमा हाल २ सय श्रमिक आयोजनास्थलमा खटिएको आयोजना पक्षले जनाएको छ ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी)मोडलमा कोरियन कम्पनी डुसान हेभी इन्डस्ट्रिज एन्ड कन्स्ट्रक्सन ठेक्का पाएको छ ।

उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा निर्माण हुन लागेको माथिल्लो त्रिशूली—१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरिया साउथ इस्ट पावर कम्पनी लिमिटेड, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी) लगायतको शेयर लगानी रहेको छ । आयोजना प्रभावित स्थानीयको लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी(इकवीटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
आयोजनाको निर्माण अवधिको ब्याजसहित कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको छ । ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजी (इक्वीटी)बाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने बताइएको छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।









